कांग्रेस र राजपाको अडानपछि सूचना टाँसियो

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

संसदको अर्को बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ ।

सर्लाही घटनाका बारेमा छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नेपाली कांग्रेस र राजपाका सांसदले नाराबाजी गर्दै रोष्टम घेरेपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

संघीय संसद सचिवालयले सूचना टाँसेर बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले २५ गते बुधबार १ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘आज मिति २०७६ साल असार २४ गते मंगलबार १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको प्रतिनिधिसभाको बैठक विशेषकारणवस बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले अर्को बैठक २०७६ साल असार २५ गते बुधबारको दिन १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जनकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Published : Tuesday, 2019 July 9, 2:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया