बलबहादुर राई जस्ता इमान्दार व्यक्ति पाउन मुस्किल छः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले बलबहादुर राई जस्ता नेताहरूको सम्मान गर्न बिर्सन नहुने बताएका छन् ।

बलबहादुर राई स्मृति प्रतिष्ठानले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले नेपालको राजनीतिमा बलबहादुर राई, कृष्णप्रसाद भट्टराई जस्तो इमान्दार र निष्ठावान नेताहरू पाउन मुस्किल पर्ने बताए । उनले भने, ‘बलबहादुर राई जस्ता नेताहरूलाई नेपाली कांग्रेसले कहिल्यै भुल्न नहुने बताए ।

०१६ सालका सांसद समेत रहेका बलबहादुर राईले ०४८ सालको आम निर्वाचनमा ओेखलढुंगाबाट भारी मतसहित विजयी भएका थिए ।

ओखलढुंगाबाट जितेर आउनेवित्तिकै कृष्णप्रसाद भट्टराईलाई बलबहादुर राईलाई राज्यमन्त्रीको प्रस्ताव गरेको खतिवडाले बताए ।

‘निर्वाचित हुनेवित्तिकै बलबहादुर राई काठमाडौं आउनु भयो । अन्तरिक कार्यकालमा कृष्णप्रसाद भट्टराईले उहाँलाई मन्त्रीको आग्रह गर्नुभयो । मार्शलजुलुम शाक्य, बासु रिसाल, महेन्द्रनारायण निधिसँगै उहाँलाई पनि मन्त्री बन्न प्रस्ताव गर्नुभयो’, खतिवडाले भने, ‘त्यति खेर बलबहादुर राईलाई किशुनजीले राज्यमन्त्री बन्न भन्नुभएको थियो । उहाँले खान मान्नुभएन । निर्वाचित भएर आइसकेपछि बलबहादुर राई सिनियर मन्त्रीको रुपमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सरकारमा पहिलो प्राथमिकताका साथ शपथ ग्रहण गराउनु भयो ।’

पूर्वको हुम्ला भनेर चिनिएको ओखलढुंगामा बलबाहादुर राईले नै कटार–ओखलढुंगा बाटो बनाएको नेपाली कांग्रेसका नेता खतिवडाले बताए । ‘बाटो खन्ने काम मात्रै होइन त्यहाँको स्कूल, खानेपानी, गाउँमा बाटो, प्रत्येक ठाउँमा पुग्नका लागि ओखलढुंगाको विकासमा एकअर्काका पर्यावाची रुपमा छिटो रुपमा उहाँले काम गरेर देखाउनुभयो । त्यही हाम्रा लागि आज सबैभन्दा ठूलो श्रद्धाको विषय बनेको छ’, उनले भने ।

नेपाली कांग्रेसका नेता खतिवडाले भने, ‘बलबहादुर राईले कहिल्यै पनि जातीयताको कुरा गर्नुभएन ।’ त्यही कारणले पनि बलबहादुर राईलाई सबैले मान्ने सफल राजनीतिज्ञ बनेको उनले बताए ।

‘बलबहादुर राईले मलाई पिए राखेर काम गर्नुभयो । म उहाँकै पिएका रुपमा बसेर काम गरे’, खतिवडाले भने, ‘कृष्णप्रसाद भट्टराईले मलाई बलबहादुर राईसँग बसेर सहयोग गर रामहरि भन्नुभयो । भोलिपल्ट चिठी लेखेर किशुनजीले बलबहादुर राई समक्ष पठाउनुभयो । म बलबहादुर राईसँग घरमै बसेर सन्तानको रुपमा काम गर्ने मौका पाएँ ।’

खतिवडाले भने, ‘उहाँले कहिल्यै पनि आफूभन्दा फरक राजनीतिक आस्था राख्ने मान्छे कोही थिए भनेपनि पहिला आफ्ना पार्टीका भन्दा ती पार्टीका मान्छेलाई ल्याएर सम्मान र सत्कार गर्ने परिपाटीको विकास गर्नुभयो ।’

‘०१५ सालका सांसद सदस्यहरू कोही हुनुहुन्छ भने उहाँको कार्यकक्षमा आउँदा सबैभन्दा पहिले ती पुराना नेताहरूलाई भित्र लगेर खाना खुवाएको छ कि छैन कसरी बसेको छस् ? तेरो आर्थिक अवस्था के छ भनेर सोध्नु हुन्थ्यो’, खतिवडाले बलबहादुर राईको विगतबारे भने, ‘बाटो खर्च दिएर जाने प्रचलन कृष्णप्रसाद भट्टराई र बलबहादुर राईले पार्टीभित्र शुरुवात गर्नु भएको थियो । आफूसँग नभए अरुसँग मागेर भएपनि कार्यकर्ताहरूलाई दिने बानी बलबहादुर राईको थियो ।’

खतिवडाले बलबहादुर राईसँग काठमाडौं आउने गाडी भाडा समेत नभएको घटना सुनाउँदै भने, ‘बलबहादुर राईज्यू सिन्धुलीघारी भन्ने ठाउँबाट काठमाडौं आउन भनेर ट्रकमा चढ्नु भए छ । बलबहादुर राईसँग पैसा हुँदैन थियो । काठमाडौं आउँदै हुनुहुँदो रहेछ । उहाँ एउटा ट्रकमा बसेर सिन्धुलीघारीबाट काठमाडौं हिँड्नुभए छ । बाटोमा आउँदा उहाँसँग जम्मा १५ रुपियाँ मात्रै रहेछ ।’

‘उहाँले दौरा सुरुवाल लगाउनु हुन्थ्यो । ट्रकमा आउँदा पैसा कम लाग्छ भनेर ट्रकमा चढ्नु भएको रहेछ । बेलुका खानाखाने बेला ड्राइभरसँग यो ट्रक किन्न कति पैसा लाग्छ भनेर सोध्नु भए छ । ड्राइभरले १५–१६ लाख लाग्छ भनेछ’, खतिवडाले भने, ‘म पनि यस्तै ट्रक किनेर हिँड्न पाए त आनन्दै हुन्थ्यो भन्नुभए छ । त्यो ट्रक ड्राइभरले यो त ट्रक किन्ने धनी मान्छे भनेर सोँचे छ । राति धादिङतिर ल्याएर राखेछ । राति रक्सी खान दिए छ । राति सुतेको बलबहादुर राईको झोला, दौरा, सुरुवालसहित सबै सामान लिएर ट्रक ड्राइभर हिँडे छ । त्यसपछि बलबहादुर राई कट्टु र बनियनमा हिँडेर काठमाडौं आउनु भएको थियो ।’

खतिवडाले बलबहादुर राई जस्तो सरल र सहज व्यक्ति नेपालको राजनीतिमा अहिले पाउन मुस्किल रहेको बताए । ‘कृष्णप्रसाद भट्टराई, बलबहादुर राई जस्ता मानिसहरू सायद हामीले पाउने छैनौँ’, उनले भने, ‘इतिहाँसमा यस्ता पनि मानिस राजनीतिज्ञ हुँदा रहेछन् भन्ने उदाहरण हामीले देखेका छौँ ।’

खतिवडाले भने, ‘संयोगले आजै म किशुनजीको आश्रम बाडेगाउँमा गएको थिएँ । अहिलेको सरकारले प्रतिष्ठानमा राखेका सुरक्षाकर्मी हटाएर टेलिफोन र बत्ती काट्ने काम गरेको छ ।’

‘शहरी विकास मन्त्रालयको सचिवलाई लिएर गएको थिएँ । सचिवज्यूले टेलिफोन र अन्य व्यवस्था गर्छु भन्नुभएको छ’, खतिवडाले भने, ‘मुख्य सचिव र गृह सचिवलाई पनि भेटेर आग्रह गरेँको छ । उहाँहरूलाई यो अरु जस्तो प्रतिष्ठान होइन । यस्ता व्यक्तित्वहरू चाहे त्यो भीमबहादुर तामाङ हुन् । चाहे बलबहादुर राई होस् । चाहे कृष्णप्रसाद भट्टराई होस् । चाहे मदन भण्डारी होस् । चाहे मनामोहन अधिकार होस् । देशका लागि काम गर्ने मान्छेलाई सम्मान गर्ने पद्धतिको शरुवात गर्नुपर्छ ।’

‘मेरो र तेरो होइन हाम्रो र राम्रो मान्छेलाई सम्मान गर्ने पद्धति हामी सबैले शुरू गर्नुपर्छ । यस्ता व्यक्तित्वलाई हामीले बिर्सियौँ भने नेपालको राजनीतिमा खडेरी परेको महशुस हुन्छ’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने, ‘हाम्रो प्रधानमन्त्री यति मीठो बोल्ने । यति बुझिने गरी बोल्ने मान्छे धेरै कम छन् । उहाँले नै राजनीतिक संस्कारको शरुवात गर्नुपर्छ । विरोधीहरूलाई ठेगान लगाउने काम गर्नु हुँदैन ।’

Published : Saturday, 2019 July 6, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया