चीनको हस्तक्षेप भित्र्याउँदै पोख्रेल र पौडेल, प्रदेश ५ मा चीनको प्रवेश

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलका गतिविधिले नेपालमा चीनको प्रभाव बढ्दै गएको पुष्टि भएको छ । मुख्यमन्त्री पोखरेलले चीनसँग गरेका सम्झौताले पनि त्यसलाई पुष्टि गरेको हो ।

नेपालमा चीनको प्रभाव बढ्दै गएको भनेर आलोचना भइरहेका बेला दुई जना मुख्यमन्त्रीहरू चीनमा डेरा जमाएर बसेका छन् । प्रदेश ५ का मुख्यमन्त्री पोखरेल र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल चीनमा छन् ।

उनीहरूको टोलीमा मेयर, नेकपा निकटका नेता तथा कार्यकर्ता र सञ्चारकर्मीहरू समेत छन् ।  फुटको संघारमा पुगेको सिचुवान प्रान्तमा प्रदेश ५ का मुख्यमन्त्री पोखरेललाई चीनले घुमाएको छ ।

मुख्यमन्त्री पोखरेलसँगै दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई पनि साथै चीन लगेर गएका छन् ।

सडक मर्मतमा ठूलो भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेसले दाङमा सडक आन्दोलन चलाइरहेका बेला मेयर चौधरी भने मुख्यमन्त्री पोखरेलसँग चीनको सिचुवान मस्तसँग घुम्दै गरेका छन् ।

प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन लीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

शुरुवाती दिनेदेखि नै पोखरेल चीन निकट मानिन्छन् । मुख्यमन्त्री पोखरेलकी जेठी छोरीलाई चीनले विगत तीन वर्षदेखि बेइजिङमा छात्रबृत्ति दिएर पढाइरहेको छ ।

समझदारीपछि मुख्यमन्त्री पोखरेल र गभर्नर लीले दुई प्रदेशबीच उच्चस्तरको भ्रमण आदानप्रदान बढाउँदै समृद्धिको यात्रामा एकआपसमा सघाउ पुर्‍याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो घनिष्ठ सम्बन्ध रहँदै आएको र यो समझदारीले भविष्यको उज्यालो यात्रा कोरेको बताएको नेपालस्थित चिनियाँ राजदूतावासद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको जानकारी गराउँदै मुख्यमन्त्री पोखरेलले छेन्दु–भैरहवाबीच सीधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री पोखरेलसंग चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमहानिर्देशक से सङबीच पनि भेटवार्ता भएको छ ।

भेटमा उपमहानिर्देशक सङले नेकपा र नेपालले लिँदै आएको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको सार्वभौमसत्ता र अखण्डताप्रति चीनको सम्मान रहेको बताएका छन् ।

मुख्यमन्त्री पोखरेल र कृषि अनुसन्धान केन्द्रका प्रमुख यान सिउ पिनबीच पनि भेट भएको छ ।

भेटमा कृषि अनुसन्धान केन्द्रका प्रमुख सिउ पिनले सिचुवानमा कामको खोजीमा शहर पसेका नागरिकलाई गाउँ फर्काएर कृषि कर्ममा लगाउन विशेष कार्यक्रम चलाएको र कृषि कर्ममा लाग्नेलाई भत्ताको व्यवस्था गरेको जानकारी गराएका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री पोखरेलसहितको टोली १० दिने भ्रमणमा छ ।

चीनमा मुख्यमन्त्री पोखरेल र पौडेलले कुटनीतिक मर्यादा विपरितका कार्य गरेको भनेर राष्ट्रिय दैनिक पत्रिकाहरूले समाचार समेत छापेका छन् ।

Published : Friday, 2019 July 5, 1:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया