नेताहरूसँग देउवाले खाेले मनका कुरा, धेरैका आँखा रसाए

काठमाडौं । नेपाली कांग्रेसभित्रको गुटको राजनीतिबाट सबैभन्दा धेरै पीडित बनेका छन् सभापति शेरबहादुर देउवा । पार्टीभित्रको विवाद व्यवस्थापन गर्न नसक्दा गुट र उपगुटहरूको चेपुवामा देउवा परेका हुन् । यो कुरा देउवाले स्वीकार पनि गरेका छन् ।

कृष्णप्रसाद सिटौलाको सहयोगमा १३औँ महाधिवेशनबाट सभापतिमा विजयी भएका देउवाले विभागहरूलाई पूर्णता दिन सकेका छैनन् । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतका अनुसार सभापति देउवाले विभाग र भ्रातृ संगठनहरू एकलौटी रुपमा जतिबेला बनाउन सक्ने भएपनि सबैलाई मिलाएर लैजाने प्रयास गरेका कारण लामो समयसम्म रिक्त रहेको दाबी गरेका छन् ।

‘सभापतिले चाहने हो भने विभाग र भ्रातृ संगठनहरू भनेको जुनसुकै बेला पूर्ति गन सक्नु हुन्छ’, उनले भने,‘सकेसम्म सबै साथीहरूलाई मिलाएर लैजाऔँ भनेकाले समस्या आएको हो । अब छिटै सबै नियुक्तिहरू हुन्छ ।’ प्रवक्ता विश्वप्रकाश शर्माले पनि भ्रातृ संगठन र विभागहरूले पूर्णता पाउने बताए । उनले भने,‘राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रममा जानु अगाडि सबै विभाग र भ्रातृ संगठनले पूर्णता पाउँछन् ।’

पार्टीलाई मिलाउन खोज्दा आफूलाई असहयोग भएको देउवाको गुनासो छ । आफू निकटका नेताहरूसँग सभापति देउवाले पेलेर जाने पक्षमा आफू नरहेकाले अन्य गुटहरूले बद्नाम गर्दै आएको गुनासो गर्ने गरेका छन् ।

‘कमीकमजोरी सबैका हुन्छन् । मेरो पनि कमीकमजोरी छ’, देउवा निकटका एकजना नेताले भने, ‘तल्लो तहको कार्यकर्ताहरूलाई समेत भड्काउने गरेर मेराविरुद्ध मेरै पार्टीका साथीहरूले बद्नाम गरिदिनु भएको छ । मैले के गरुँ ?’ सभापति देउवाले आफ्ना विषयमा तल्लो तहका कार्यकर्ताहरूमा गलत बुझाइ रहेको गुनासो गर्ने गरेका छन् ।

स्रोतका अनुसार अबको १४औँ महाधिवेशनलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल, कोइराला परिवार र कृष्णप्रसाद सिटौला समूहले देउवाको हरेक कार्यक्रमहरूमा बद्नाम गराउन आलोचनाको रणनीति अपनाउँदै आएको छ ।

उनीहरू देउवालाई सिध्याउन पाएपछि १४औँ महाधिवेशनमा पद हत्याउन सजिलो हुने सोचाइमा छन् । देउवाले विरोधी गुटहरूका सबै कुरा बुझेका छन् । नेपाली कांग्रेस कमजोर भयो भनेर आलोचना भइरहेका बेला देउवाले महासमितिको निर्देशन र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार पहिलो चरण राष्ट्रिय जागरण अभियान चलाए ।

तर, देउवालाई फाइदा पुग्छ भनेर पौडेल, कोइराला र सिटौला समूहले सकेसम्म जागरण अभियानलाई असहयोग नै गरिरहे । डा.शेखर कोइरालाले त तल्लो तहसम्म उत्रिएर जागरण अभियानको विरोध नै गरे ।

नेपाली कांग्रेसको सभापति वा महामन्त्रीको उम्मेदवार बन्ने योजनामा रहेका डा.शेखर कोइरालाले देउवाको सबैभन्दा धेरै आलोचना र विरोध गर्ने गरेका छन् । डा.शेखर कोइरालाको आलोचनाबाट देउवा आजित छन् ।

डा.शेखर कोइरालाको यस्तै गतिविधि जारी रह्यो भने कुनै पनि गुटमा उनी अटाउन सक्ने छैनन् । पछिल्लो समय आफूलाई नेपाली कांग्रेसभित्रको सबैभन्दा शक्तिशाली नेता ठान्ने डा.शेखर कोइरालाले कृष्णप्रसाद सिटौलालाई नेता मान्न थालेको चर्चा हुन थालेको छ । हुन त डा.शेखर कोइरालाले आफू कुनै पनि गुटमा नरहेको बताउने गरेका छन् ।

Published : Saturday, 2019 June 22, 10:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया