कांग्रेसका अन्तर्घातीलाई अध्यक्षकाे टिकट, वाग्ले र तामाङले फाेरम बिगारे

काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष हंसराज वाग्लेले नेपाल वैदेशिक रोजगार व्यसायी संघको निर्वाचनका लागि विवादास्पद व्यवसायी कमल तामाङलाई अध्यक्षको टिकट दिएर उम्मेदवार बनाएपछि भाँडभैलो भएको छ ।

दुई दिन अगाडि बिहीबार अध्यक्ष वाग्लेले फोरमको बैठक राखेका थिए । बैठकमा अल्पमतमा परेका वाग्लेले पेलेरै तामाङलाई जबरजस्ती अध्यक्ष पदको टिकट दिएपछि विवादले ठूलो रुप लिएको छ ।

फोरमको २१ सदस्यीय कार्यसमितिमा तामाङलाई टिकट दिनु हुँदैन भन्ने पक्षमा बहुमत छ । अध्यक्ष वाग्लेले एकलौटी निर्णय गरेर अल्पमतका आधारमा तामाङलाई संघको अध्यक्षको टिकट दिएका छन् ।

नेपाली कांग्रेस निकटका उम्मेदवारहरूलाई सधै हराउन भूमिका खेल्दै आएका तामाङले चोरबाटोबाट टिकट हत्याएपछि उनीविरुद्ध बहुमत व्यवसायीहरू विरोधमा उत्रिएका छन् । तामाङलाई कारबाही गर्न नेपाली कांग्रेसको अनुशासन समितिमा लिखित रुपमै पठाएको छ ।

२१ सदस्यीय कार्यसमितिमा अध्यक्ष वाग्लेसहित १० जना सदस्य तामाङलाई टिकट दिनुपर्छ भन्ने पक्षमा छन् । वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्य गरी ११ जना तामाङलाई अध्यक्षको टिकट दिनु हुँदैन भन्ने पक्षमा छन् ।

अल्पमतमा परेका अध्यक्ष वाग्लेले तामाङलाई जसरी पनि अध्यक्षको टिकटबाट ब्याक नगराउने भन्दै आएका छन् । वाग्लेले आफू निकटका व्यवसायीहरूसँग ‘मैले कांग्रेसका सभापति शेरबहादुर देउवालाई त टेरिन अरुलाई के मान्थे ?’ भन्ने अभिव्यक्ति दिन थालेका छन् । स्रोतका अनुसार फोरमको तर्फबाट अध्यक्ष पदको टिकट हत्याउन तामाङले पाँच लाख आर्थिक लेनदेन गरेको कांग्रेस निकटका व्यवसायीहरूमाझ व्यापक चर्चा छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फोरमका अध्यक्ष वाग्लेले राईलाई टिकट दिन चलखेल गरेपछि केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई पठाएका थिए । वाग्लेले पाण्डेका कुरै सुनेनन् । त्यसपछि पाण्डे ब्याक भएका थिए ।

वाग्लेसँग रिसाएका सभापति देउवाले फोरमभित्रको विवादलाई मिलाएर टिकट वितरण गर्न केन्द्रीय सदस्य रमेश लेखकलाई खटाए ।

तर, रमेश लेखेकले टिकट वितरणका विषयमा परामर्श गर्दै गर्दा वाग्लेले नेपाल वैदेशिक रोजगार व्यवासयी संघको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट कमल तामाङलाई अध्यक्षमा घोषणा गरिदिए । वाग्लेको चर्तिकलाबाट कांग्रेसका केन्द्रीय सदस्य लेखक आक्रोशित बनेका छन् ।

वाग्लेको कार्यशैलीविरुद्ध नेपाली कांग्रेसका सभापति देउवा र केन्द्रीय कार्यालयसम्म उजुरी परेको छ । संघको अध्यक्षमा फोरमबाट विष्णु गैरे, भुवन गुरुङ र कमल तामाङ आकांक्षी थिए ।

वैदेशिक रोजगार व्यवसायी कमल तामाङ नेपाली कांग्रेस ओखलढुंगाका महाधिवेशन प्रतिनिधि हुन् । प्रदेशको निर्वाचनका बेला नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसदको उम्मेदवार बनेका प्रदीप सुनुवारलाई हराउन खेलेरै लागेका थिए ।

सुनुवार नेपाली कांग्रेस ओखलढुंगाका सभापति हुन् । तामाङले पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेपछि नेपाली कांग्रेस ओखलढुंगाले प्रमाणसहित कमल तामाङलाई कारबाही गर्न सिफारिस गरेको छ । तामाङको हर्कतका बारेमा नेपाली कांग्रेसको अनुशासन समितिमा छानविन चलिरहेको छ ।

त्यति मात्रै होइन कमल तामाङले वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका बेला फोरमबाट अध्यक्षमा उम्मेदवार बनेका विमल ढकाल र उपाध्यक्ष प्रज्ञान न्यौपानेलाई हराउन भूमिका खेलेका थिए ।

उता, सत्तारुढ नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका व्यवसायीहरूभित्र कांग्रेसमा जस्तो विवाद छैन । नेकपा निकटका व्यवसायीहरूमध्येबाट सरोज पोखरेल र रामप्रसाद भान्तना आकांक्षी देखिएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको असार २७ गते साधारण सभा र नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदै छ ।

संघका अहिलेका अध्यक्ष रोहन गुरुङले व्यवसायीहरूको पक्षमा काम गर्न नसकेकोर आलोचना हुँदै आएको छ । सरकारले व्यवसायीहरूलाई मोटो रकम धरौटीको व्यवस्था गरिदिएपछि संघका अध्यक्षले धरौटीको रकम घटाउन पहल नगरेको भन्दै आलोचना भएको छ ।

Published : Saturday, 2019 June 22, 10:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया