डा.गोविन्द केसीसहितका अभियन्त सरकारविरुद्ध सडकमा

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले ज्यादती गर्न थालेपछि लोकतन्त्रका लागि नागरिक खबरदारी अभियानले प्रदर्शन गरेको छ ।

काठमाडौंको माइतीघर मण्डलामा शनिबार कम्युनिस्ट सरकारको अलोकतान्त्रिक क्रियाकलापको खबरदारी गर्दै प्रदर्शन गरेको हो ।

मानवअधिकारकर्मी, नागरिक समाजलगायत माइतीघर मण्डलामा भेला भई संविधान पालनका लागि सरकारलाई खबरदारी गरेका छन् ।

लोकतन्त्रका लागि नागरिक खबरदारी अभियानमा सहभागीहरूले नागरिक स्वतन्त्रताको सम्मान, सुशासनको प्रत्याभुति, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्न, मानवअधिकार आयोग माथिको हस्तक्षेप बन्द गर्न तथा न्यायलयको स्वतन्त्रता कायम गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनीहरूले अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप, समाजिक सञ्जाल विरोधी विधेयक, नागरिक स्वतन्त्रता विरोधी राहदानी विधेयकको विरोध गर्दै राष्ट्रिय सुरक्षा परिषद्को क्षेत्राधिकारको सम्मान गर्न सरकारलाई सचेत गराए ।

अभियानमा सहभागीले विश्वविद्यालय लगायत प्राज्ञिक संस्थाहरुको स्वतन्त्रताको सम्मान गर्न, सांस्कृतिक सम्पदामाथिको हस्तक्षेप बन्द गर्न तथा पीडीतको न्याय सुनिश्चित गरी दण्डहीनताको अन्त्य गर्नुपर्नेमा सरकारलाई खबरदारी गरेका छन् ।

सरकारले संविधान विपरित मानवअधिकार आयोग सम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक लगायतका विधेयकहरु ल्याउने काम गरेको भन्दै अधिकारकर्मी, संचारकर्मी तथा नागरिक समाजले विरोध गर्दे आएका छन् ।

सरकारका कदमहरू संविधान विपरीत भएको भन्दै संविधानको पालना तथा नागरिक स्वतन्त्रताको माग गर्दै अभियानले माइतीघर मण्डलामा निरन्तर खबरदारी गर्दै आएको छ ।

शनिबारको प्रदर्शनमा डा.गोविन्द केसीसहितका अभियन्ताहरू सहभागी थिए ।

Published : Saturday, 2019 June 15, 4:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया