तरुण दल केन्द्रीय कार्यसमितिद्वारा काभ्रे तरुण दलको कामको प्रशंसा, धन्यवाद पत्र प्रदान

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाल तरुण दल काभ्रे जिल्ला कार्यसमितिलाई विशेष धन्यवाद दिएका छन् ।

शनिबार धन्यवाद पत्र लेखेर तरुण दल काभ्रेका अध्यक्ष सुजन लामालाई अध्यक्ष गुरुङले संगठन निर्माण, सामाजिककार्य लगायतका कार्य गरेको भन्दै धन्यवाद दिएका हुन् ।

अध्यक्ष गुरुङले भनेका छन्, ‘नेपाल तरुण दल काभ्रे जिल्ला कार्यसमितिले जिल्लाका सबै क्षेत्र, पालिका र वडाहरूमा दलको संगठन निर्माण कार्यलाई तिव्रताका साथ अगाडि बढाइ एक उदाहरणीय संगठन निर्माणको कार्य गरेको छ ।’

‘जिल्लाका सबै तह र तप्कामा तरुण दलको संगठनलाई विस्तार गरेर तरुण दलको झण्डा सर्वत्र फहराउने कार्य गरी जिल्लाका सम्पूर्ण तरुणहरूमा उर्जा र उत्प्रेरणा प्रदान गरेको छ’, अध्यक्ष गुरुङले भने ।

‘काभ्रे जिल्लाले संगठन निर्माणका साथै मानवसेवा र सामाजिक क्षेत्रका कार्यहरूमा आफ्ठ्यारोमा परेका हजारौं सर्वसाधारण नागरिकहरूको उद्धार, सेवा र सहयोगको कार्य गरेको, आर्थिक एवम् सामाजिक रुपले अफ्ठ्यारोमा परेका मानिसहरूको लागि साथ, सहयोग र सेवाको कार्य गरेको, बाढी, पहिरो र भूकम्प जस्ता प्राकृतिक विपत्तिहरूको समयमा अग्रपंक्तिमा रहेर आर्थिक र भौतिक सहयोगको कार्य गरेकोमा नेपाल तरुण दल केन्द्रीय कार्यसमिति मुक्तकण्ठले प्रशंसा गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछ’, पत्रमा भनिएको छ ।

‘यस्ता सांगठनिक, आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गर्दै जान नेपाल तरुण दल काभ्रे जिल्लालाई सफलता मिल्दै जाओस् हार्दिक शुभकामना’, अध्यक्ष गुरुङले भनेका छन् ।

काभ्रे तरुण दलले जिल्लामा संगठन निर्माणका साथै सामाजिक दायित्वमा प्रशंसनीय कार्य गरेपछि तरुण दलको केन्द्रीय कार्यसमितिले धन्यवाद दिएको छ । काभ्रे तरुण दललाई भावी दिनमा कार्यसम्पादनमा प्रोत्साहन र उर्जा दिनका लागि केन्द्रीय कार्यसमितिले धन्यवाद दिएको छ ।

Published : Saturday, 2024 May 11, 6:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया