सभापति खतिवडाद्वारा २ जनाको ज्यान गुमाएको धमलाको परिवारलाई आर्थिक सहयोग

सिद्धिचरण । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आगलागीबाट जलेर निधन भएका परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

शनिबार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका १० बेतेनीमा आगलागीमा परेर मृत्यु भएका आफन्तलाई खतिवडाले व्यक्तिगत रुपमा २२ हजार र नगरपालिकाको १ लाख गरी १ लाख २२ हजार रुपियाँ हस्तान्तरण गरेको स्वकीय सचिव हुकुम राईले बताए ।

वैशाख २४ गते सोमबार दिउँसो बसाहा हरिबोले सामुदायिक वनमा लागेको आगो अनियन्त्रित भएर बाहुनडाँडाका रेवती धमलाको खरबारीमा सल्केको थियो ।

आगोले काटेर राखेको खर, घाँस जोगाउने क्रममा ५५ वर्षीया पूण्यमाया धमला र उनका १६ वर्षीय छोरा कञ्चन धमलाको जलेर मृत्यु भएको थियो ।

आमा–छोराको मृत्यु भएको घर परिवारलाई भेटेर सभापतिले आर्थिक सहयोग गरेका हुन् । आर्थिक सहयोग हस्तान्तरणका क्रममा नेपाली कांग्रेस ओखलढुङ्गाका सभापति तथा सिद्धिचरण नगरपालिकाका नगरप्रमुख तेजेन्द्र खनालको पनि उपस्थिति रहेको थियो ।

समितिका सभापति खतिवडाले धमलाको परिवारले व्यहोरेको क्षतिलाई सानो आर्थिक सहयोगले पूरा गर्न नसक्ने भन्दै विपतको बेला मानवीय भावना सबैले राख्नुपर्ने बताए । उनले प्राकृतिक प्रकोपबाट भएको मानवीय क्षतिप्रति खतिवडाले मर्माहत भएको बताए ।

नगरप्रमुख खनालले पनि धमला परिवारले भोगेको पीडा निकै ठूलो रहेको बताए । उनले आगलागीको यो घटनाले पूर्वतयारी र जनचेतना आवश्यक रहेको बताएका छन् ।

Published : Saturday, 2024 May 11, 4:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया