न्यारोबडी जहाज मर्मतमा के के प्रश्न उठ्यो ? निगमद्वारा समिति गठन

काठमाडौं । नेपाल वायुसेवा निगमले न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न समिति गठन गरेको छ ।

निगमको ९एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा करिब ५ महिनाभन्दा बढी समय लागेको थियो ।

निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधिरशम्शेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको निगमका प्रवक्ता रमेश पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्ड्रस्ट्रिजमा मर्मतका लागि पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन र अध्ययन गरी १५ दिनभित्र सिफारिससहितको प्रतिवेदन बुझाउन आदेश दिइएको छ ।

सम्झौताको सर्तअनुसार समयमा इन्जिन दिन नसकेको सम्बन्धमा निगमको सीएएम डिपार्टमेन्टबाट क्षतिपूर्ति दाबी गर्ने प्रक्रिया समेत अगाडि बढेको प्रवक्ता पौडेलले बताएका छन् ।

उता, इन्जिन मर्मतका क्रममा जहाज लामो समय इजरायलमा रहेपछि विभिन्न आशंका भएका थिए ।

जहाज मर्मतमा ५१ मिलियन डलर भुक्तानी गर्नुपर्नेमा निगमले ७४ मिलियन डलर भुक्तानीको तयारी दिन लागेको आरोप लागेको छ ।

जहाज मर्मतमा गएका बेला निगमलाई करीव २ अर्ब नोक्सानी भएको चर्चा निगमभित्र छ ।

यसअघि कार्यकारी अध्यक्ष युवराज अधिकारीबाट निगम र इजरायल एरोस्पेस इन्टस्ट्री (आईएआई)बीच भएको सम्झौताबमोजिम कार्य गर्न र ढिलाइ भएकोमा क्षतिपूर्तिसमेत दाबी गर्नु भनी मिति गत चैत २२ मा सीएम डिपार्टमेन्टमा निर्देशनसमेत भइसकेको विज्ञप्तिमार्फत जनाइएको छ ।

Published : Friday, 2024 May 10, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया