कांग्रेसका तीन ठूला नेताहरू विदेश उडे

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसहितका नेताहरू युरोप भ्रमणमा प्रस्थान गरेका छन् ।

बिहीबार कांग्रेस नेताहरू प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि डेनमार्कको राजधानी कोपनहेगन प्रस्थान गरेका हुन् ।

डेनमार्कको बर्नहोल्ममा यहि जुन १३–१७ सम्म हुने मेलामा सहभागी हुन कांग्रेस उपसभापति निधिसहितका नेताहरू त्यसतर्फ प्रस्थान गरेका हुन् ।

डेनिस इन्स्टिच्यूट फर पार्टीज् एण्ड डेमोक्रेसी (डीआइपीडी) को निमन्त्रणामा डेमोक्रेसी मेलामा सहभागी हुन कांग्रेस उपसभापति निधिसहित डा.मीनेन्द्र रिजाल, चित्रलेखा यादब र विनोद भट्टराई डेनमार्क प्रस्थान गरेको प्रेस सूचनामा उल्लेख छ ।

प्रजातन्त्र मेलामा डेनमार्कको प्रजातन्त्रको अनुभबबारे अध्ययन भ्रमणका सहभागीहरूलाई जानकारी गराइनेछ । मेलामा नेपालसहितका बिभिन्न मुलुकबाट नेताहरुको सहभागिता रहनेछ ।

डीआइपीडीको सदस्य बनेको नेपाल डेनमार्क बाहिरको पहिलो मुलुक हो । जसलाई सन् २०१० को मे २६ मा त्याँहाको संसदले मान्यता दिएको थियो ।

त्यसपछि नेपालको संसदले सन् २०१२ मा बिभिन्न राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको दलहरुको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो ।

नेपालजस्तो विकासशील मुलुकमा प्रजातान्त्रिक शासन व्यबस्थाको सवलीकरणका लागि दलहरू बलियो हुनुपर्छ भन्ने मान्यता अनुसार डेनर्माको संसदले यो संस्था गठन गरेको हो । यो संस्थाले मुलुकमा दलहरूबीचको सहकार्यमा जोड दिने गर्दछ ।

प्रजातन्त्र मेलामा सहभागी भएपछि कांग्रेस उपसभापति निधिसहितका नेताहरू विश्वभर छरिएर रहेका नेपाली कांग्रेस आबद्ध नेपाली जनसम्पर्क समितिको अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् ।

विभिन्न ३३ देशका महाधिवेशन प्रतिनिधिको सहभागिता रहने त्यस कार्यक्रममा प्रशिक्षणका साथै नेपालको समृद्धिमा डायस्पोराको भूमिका, विश्वमा बढ्दो तापक्रम र नेपाल प्रभाब, विश्वको वदलिँदो राजनीति, दक्षिण एसिया र नेपाल, समाजवादको युरोप अनुभवको आलेकमा नेपाल विषयमा अन्तरक्रिया कार्यक्रम गरिनेछ ।

Published : Thursday, 2019 June 13, 5:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया