कांग्रेस नेता प्रधानका कुराले झस्कियाे कम्युनिस्ट सरकार, तर्सिए कम्युनिस्टहरू

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई विगतको इतिहाँसलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाभित्रको भाषा, संकृति, परम्परा र रितिरिवाजलाई आक्रमण नगर्न चेतावनी दिएका छन् ।

संसदको बिहीबार बसेको बैठकमा शुरूमै विशेष समय लिएर बोल्दै प्रधानले इतिहाँसको हेक्का राखेर मात्रै अगाडि बढ्न सुझाव दिए । उनले ओली सरकारलाई काठमाडौंको भाषा, संस्कृति, परम्परा र रितिरिवाजमाथि धावा नबोल्न आग्रह गरे ।

कांग्रेसका सांसद प्रधानले सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन सम्बन्धी कन्भेन्सनको दफा १९६ र धारा २ विपरीत विधेयक ल्याएर काठमाडौंका जनताको भावनामाथि धावा बोलको आरोप लगाएका छन् ।

‘सरकारलाई ज्ञान होला, काठमाडौं उपत्यका जनता उठेपछि कुनै पनि शक्तिले रोक्न सक्दैन । राणा शासन ढल्यो शहीद शुक्रराज, दशरथ चन्द, गंगालाल, धर्मभक्तको आब्हानमा भएको आन्दोलनले’, उनले भने, ‘काठमाडौंका जनता जुरुक्कै उठेपछि ४६ सालको आन्दोलनले निरंकुश पञ्चायती शासन ढल्यो ।’

‘याद होला काठमाडौंका जनताले प्रतिगमनविरोधी गिरिजाबाबुको नेतृत्वमा भएकोे आन्दोलनमा पनि साथ दिएका थिएनन्’, उनले भने,‘जब गणतन्त्रको नारा सडकमा लाग्न थाल्यो तब काठमाडौंको जनता जुरुक्कै उठ्यो र राजतन्त्र ढल्यो ।’

पुनःस्थापित संसदको एजेण्डा राजा फाल्ने नभएपनि काठमाडौंका जनता सडकमा उत्रिएपछि त्यो पनि फालिएको कांग्रेसका सांसद प्रधानले बताए । ‘हेक्का रहोस्, अहिले खड्गप्रसाद ओलीको सरकार ढल्ला भन्ने चिन्ता होइन, सबै पार्टीहरू मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रले ल्याएको संविधानप्रति कतै डिरेल होला र जनताको अनास्था होला भन्ने चिन्ता हो । समयमै सरकार सचेत होस् ।’

‘पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दा पनि नेवारहरूको काठमाडौंको राज्यमाथि धावा बोलेर कब्जा जमाएपछि पनि उनले भक्तपुरका राजासँग मैत्री सम्बन्ध कायम गरी यहाँको संस्कृति, परम्परा, धर्म बुझेको कारण यसमाथि धावा नबोलेको र त्यही कारण काठमाडौंका नेवार उनीविरुद्ध उत्रिएका थिएनन्’, प्रधानले भने ।

‘काठमाडौंका जनता पृथ्वीनारायण शाहको विरुद्धमा इतिहासमा उत्रिएनन् किन भने उनले यहाँको सम्पदा, संस्कृति र कुमारीलाई ढोगेर विजय जुलुस चलाउँदै यहाँको संस्कृतिप्रति सम्मान गरेका थिए’, उनले भनेका छन् ।

सरकारले धर्म, संस्कृति र परम्परा समाप्त पार्ने गरी ल्याएको विधेयकको कारण अहिले काठमाडौंमा आन्दोलनको हुरी चलेको बताउँदै उनले भने, ‘बादल दिनहुँ गर्जिदै छ । कतै त्यो आन्दोलनले अहिले हामीले ल्याएको संविधान डिरेल त हुँदैन ?’

काठमाडौंका जनतामात्र होइन, जो जति जहाँ गुठी व्यवस्थामा छन् पहाडदेखि तराईसम्म र विशेष गरी काठमाडौंको सम्पदा, संस्कृति र काठमाडौंको भाषा र धर्म अन्तर्राष्ट्रिय जगतमा यो सम्पदाले नेपाललाई चिनाएको कांग्रेसका सांसद प्रधानले बताएका छन् ।

‘सरकारले अहिले त्यहि सम्पदामाथि धावा बोलेको छ’, उनले भने, ‘काठमाडौंको सम्पदा र संस्कृति, रितिरिवाजालाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ ।’

उनले ओलीको कम्युनिस्ट सरकारले जे जति पनि विधेयकहरू संसदमा प्रस्तुत गरेको छ त्यसमा सरोकारवालाहरूले विरोध गरिरहेको अवस्था किन भइरहेको छ भनि प्रश्न गरेका छन् ।

सरकारले सरोकारवालाहरुसँग छलफलै नगरी आफूखुशी ल्याएको कारण यो अवस्था आएको बताउँदै कुनै पनि विधेयक वा कानुन बनाउँदा सरोकारवालाहरूसँग परामर्श गरेरमात्रै ल्याउन उनले सुझाव दिए ।

तत्कालीन सरकारले १९५५ मा संयुक्त राष्ट्रसंघमा नेपालको भाषा देवनागरी दर्ता गर्न खोज्दा त्यसलाई भारतीय भाषासँग मिलेको भन्दै दर्ता नहुँदा नेवारहरूको नेपाल भाषा रञ्जना लिपी दर्ता भएको विगतको उदाहरण नेपाली कांग्रेसका सांसद प्रधानले दिए ।

कांग्रेस नेता एवम् सांसद प्रधानका कुराले कम्युनिस्ट सरकार र नेताहरूलाई गुठी विधेयकका बारेमा एक पटक सोँच्न बाध्य बनाएको छ । यस्तै अवस्था रह्यो भने काठमाडौं उपत्यकाभित्र कम्युनिस्ट सरकारविरुद्ध ठूलो आन्दोलन चर्कन सक्ने प्रधानले चेतावनी दिएका छन् ।

Published : Thursday, 2019 June 13, 5:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया