नेविसंघद्वारा काठमाडौंमा कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

काठमाडौंको प्रदर्शनीमार्गमा नेविसंघले कम्युनिस्ट सरकारको अराजकताविरुद्ध प्रदर्शन गरेको विद्यार्थी नेता मोतीलाल भण्डारीले जानकारी दिए । उनले भ्रष्टाचार, अनियमितता, राजनीतिक प्रतिशोधका आधारमा दुःख दिने कार्यलगायतका विरोधमा मंगलबार प्रदर्शन गरिएको बताए ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता र संविधान विपरीत भएकोले खारेज गर्न माग गर्दै नेविसंघ सडक आन्दोलनमा उत्रिएको भण्डारीले बताएका छन् ।

नेविसंघ आबद्ध विद्यार्थीले पुतलीसडक हुँदै बागबजारसम्म प्रर्दशन गरेका थिए ।

प्रेस, न्यायालय, विश्वविद्यालय सबैलाई आफ्नो नियन्त्रणमा लिएर कम्युनिस्ट नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खोजेको भन्दै त्यसको विरुद्ध सडक आन्दोलनमा उत्रिनु परेको नेविसंघका नेता भण्डारीले जानकारी दिए ।

उनले सरकारले विश्वविद्यालय, प्रेसलगायतका संस्थाहरूमाथि हस्तक्षेप हुने गरी ल्याइएका सबै विधेयकहरु फिर्ता नभए कडा संघर्षमा उत्रन बाध्य हुने उनले चेतावनी दिए ।

नेविसंघले मुलुकलाई शान्ति सुरक्षा दिन नसकेको, महंगी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गर्दै आएको छ ।

Published : Tuesday, 2019 May 28, 12:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया