यी हुन् सरकारी पैसामा विदेश धेरै घुम्ने कम्युनिस्ट मन्त्री, ओलीका प्यारा

काठमाडौं । कम्युनिस्ट सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आठ महिनामा ६४ दिन विदेशमा घुमेको रहस्य बाहिरिएको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले सिंहदरबारमा कार्यसम्पादनबारे मन्त्रीहरूको सातो लिइएका बेला परराष्ट्रमन्त्री ज्ञवाली भने जापानमा घुमफिर गर्दै थिए । ज्ञवालीले पाँच दिन जापानमा घुमेका छन् । ज्ञवाली प्रधानमन्त्री ओलीका सबैभन्दा निकटका मन्त्री मानिन्छन् ।

परराष्ट्रमन्त्री ज्ञवाली शुक्रबार काठमाडौं आइपुगेका छन् । उनी सम्भवतः चाँडै अर्को देश जानेछन् । किनकि उनी प्रायः घुमेको घुम्यै गर्छन् । मन्त्रालय सम्हालेको ८ महिनामा ६४ दिन विदेशमै बिताइसकेका छन् । मन्त्री ज्ञवालीको जापान भ्रमण १३औं हो ।

मन्त्रीका अगाडि कर्मचारीले मक्ख हुने गरी कुरा राख्ने चलन नौलो होइन । त्यसमै अल्मलिनु अनौठो हो । परराष्ट्रमन्त्री ज्ञवालीको आठ महिना अवधिमा दुई महिना विदेश र प्लेनमा रहेको मन्त्रालयकै कर्मचारीहरू बताउँछन् ।

दुई महिना चार दिन विदेशमा रहे पनि नगई नहुने भन्ने जस्तो भ्रमण खासै छैन । परराष्ट्रमन्त्री विदेश जानुका निश्चित उद्देश्य हुनुपर्छ । तर अहिले भइरहेको भ्रमणबाट त्यस्तो केही देखिएको छैन ।

चैत २ मा परराष्ट्रमन्त्री भएपछि उनले विदेश यात्रा अजरबैजानबाट थालेका हुन् । उनी असंलग्न राष्ट्रहरूको संगठन (नाम)को मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन अजरबैजान पुगे ।

त्यसलगत्तै उनी प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुन उतैबाट दिल्ली आए । दिल्लीबाट फर्केलगत्तै उनी प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भन्दै बेइजिङ हान्निए ।

चीनपछि ज्ञवाली अल्पविकसित र भूपरिवेष्ठित मुलुकको थिंक ट्यांक सम्मेलनमा सहभागी हुन मंगोलिया गए । त्यहाँबाट फर्केको एक साता नहुँदै उनी प्रधानमन्त्रीसँग चीन भ्रमणमा निस्किए । बिम्स्टेक तयारीलाई बेवास्ता गर्दै ९ दिनका लागि युरोप (पोर्चुगल, लग्जेम्बर्ग र बेल्जियम) गए ।

बिम्स्टेक सम्मेलन सकेको केही समयमा उनी पुनः युरोप गए । पहिला गएको स्थानमा पुनः दोर्होयाएरसमेत पुगे । भियना र बेल्जियमबाट फर्केलगत्तै उनी प्रधानमन्त्रीसँग १३ दिन अमेरिकामा रहे । राष्ट्रपति विद्यादेवी भण्डारीसँग कतार गए ।

ज्ञवाली मन्त्री बनेपछि परराष्ट्र कर्मचारीको विदेश भ्रमण पनि बढेको छ । लामो राजनीतिक अनुभव भएका ज्ञवालीको भ्रमण मोह देखेर अन्य समकक्षी नै आश्चर्यमा छन् । चाडपर्व परेको महिना र मोदीको नेपाल भ्रमण भएको मे महिनाबाहेक सबै महिना विदेशमा छन् ।

Published : Friday, 2018 November 23, 11:54 pm

2 प्रतिकृया प्राप्त “यी हुन् सरकारी पैसामा विदेश धेरै घुम्ने कम्युनिस्ट मन्त्री, ओलीका प्यारा”

  • गुल्मी झन्झन् पछि पर्यो ।चुनाव जितेर गुल्मिमा अझैसम्म सिन्को भाचेका छैनन् ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया