एमाले–माओवादीको संविधान विपरितको कीर्ते कार्यको कांग्रेसद्वारा भर्त्सना

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा सभामुखबाट भएको असंवैधानिक कार्यको घोर निन्दा एवम् भर्त्सना गरेको छ ।

सोमबार कांग्रेसले विज्ञप्ति जारी गरेर गण्डकी प्रदेशमा संसदीय पद्धति र संविधान विपरितको कार्य भएको भन्दै भर्त्सना गरेको हो ।

‘गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीेले विश्वासको मत लिने क्रममा सभामुखद्वारा संविधानको मर्म र भावना तथा संसदीय पद्धति र अभ्यास विपरीत भएको असंवैधानिक कार्यप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपालको संविधानको धारा १८८ को उपधारा ३ मा उल्लेख भए अनुसार तत्काल कायम रहेको सम्पूर्ण सदस्यको बहुमतबाट गर्नु पर्ने व्यवस्था हुँदाहुँदै ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुखले ३० सदस्यको मत प्राप्त खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गर्नु नेपालको संविधानको मर्म र भावना तथा संसदीय शासन पद्धतिको आधारभूत मूल्य, मान्यता एवं संसदीय अभ्यास र परम्परा विपरीत गरिएको कार्य हो भन्ने नेपाली कांग्रेसको ठहर छ’, कांग्रेसले भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्य संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र नेपालको संविधानमाथि कै ठाडो प्रहार हो र यसले सर्वसत्तावादी चरित्रलाई उदाङ्गो पारेको छ ।’

‘यो असंवैधानिक कार्यको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ’, कांग्रेसले विज्ञप्तिमा भनेको छ ।

आइतबार एमालेका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० मत पाएका छन् । विश्वासको मत पाउन न्यूनतम ३१ मत पाउनुपर्छ ।

नेकपा (माओवादी केन्द्र)का सभामुख कृष्ण धितालले बलजफ्ती संविधान र संसदीय मर्यादा विपरित ३० मत पाएका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको भनेर घोषणा गरेका थिए ।

Published : Monday, 2024 May 6, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया