धरापमा अशोक राईसहित ७ सांसदको पद, जसपा फुट्न नसक्ने, यस्तो छ कानूनी र संवैधानिक व्यवस्था

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले विभिन्न सञ्चारमाध्यममा पार्टी विभाजन भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार जसपाका प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘जसपा सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा विभाजन भन्ने समाचारप्रति यस पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले भने, ‘हाल संसद अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजन सम्बन्धी अध्यादेश खारेज रहेको साथै यस दलको बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिवद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गइ अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नु हुन अनुरोध छ ।’

जसपाका नेता एवम् सांसद अशोक राईको नेतृत्वमा सात जना सांसदले आइतबार निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा) दल दर्ताको निवेदन र सनाखत गरेका छन् ।

जसपा नेपालका प्रवक्ता सुमनले विज्ञप्ति जारी गरेर पार्टी विभाजन हुन नसक्ने संवैधानिक र कानूनी व्यवस्थाको जानकारी गराएका छन् । जसपाको दाबीअनुसार संवैधानिक र कानून व्यवस्था रह्यो भने सांसद राईको योजना तुहिनेछ । उनीहरूको सांसद पद समेत धरापमा पर्नेछ ।

एमालेका अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिँदा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पटक पटक धोका हुँदै आएको छ । यसअघि पनि एमालेका अध्यक्ष ओली प्रधानमन्त्री रहेका बेला जसपालाई फुटाउने प्रयास भएको थियो । जसपाका सांसदलाई अपहरण समेत गरिएको थियो ।

Published : Monday, 2024 May 6, 3:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया