कांग्रेसले यसरी गर्‍यो मंगलबारको तयारी, प्रदर्शनमा सहभागी हुन कडा अपील

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भोलि मंगलबार राजधानीसहित मुलुकभरि प्रदर्शन गर्दै छ । सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन कांग्रेसले सोमबार अपील पनि गरेको छ ।

कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सर्वसत्तावाद लाद्न खोजेको भन्दै मंगलबार देशभरि विरोध प्रदर्शन गर्न लागेको हो ।

कांग्रेसले ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई ‘सर्वसत्तावादलादेको, मूल्य वृद्धि र महँगी रोक्न नसकेको तथा लोकतान्त्रिक पद्धतिमाथि प्रहार गरेको’ जस्ता आरोपसहित प्रदर्शन गर्न लागेको जनाएको छ ।

काठमाडौंको प्रदर्शनलाई भव्य र शान्तिपूर्ण बनाउनका लागि स्वयं सेवकहरू परिचालनका साथै उल्लेख्य कार्यकर्ता उतार्ने गरेर तयारी भएको छ । भक्तपुर, ललितपुरसहितका अन्य जिल्लाहरूमा पनि तयारीहरू भएका छन् ।

काठमाडौंमा नेपाली कांग्रेसले दिउँसो साढे दुई बजेबाट प्रदर्शन शुरु गर्नेछ । काठमाडौं कांग्रेसको सोमबार पार्टी कार्यालय ज्ञानेश्वरमा बसेको बैठकले विरोध प्रदर्शनका क्रममा रुटको पनि टुंगो लगाएको छ ।

रत्नपार्कस्थित शान्तिबाटिकामा जम्मा भएर भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार, जुद्धशम्शेरको शालिक, न्यूरोड हुँदै पुनः शान्तिबाटिकामा जम्मा भएर कोणसभासहित समापन गरिने कांग्रेस काठमाडौंका सभापति सवुज बाँनियाले जानकारी दिए ।

कांग्रेसको प्रदर्शनलाई ध्यानमा राखेर प्रहरी प्रशासनले पनि विशेष तयारी गरेको छ । राजधानीसहित जिल्लाहरूमा उच्च सर्तकता अपनाएको प्रहरी मुख्यालयको भनाइ छ ।

काठमाडौं प्रहरीका प्रमुख डिआइजी मनोज नेउपानेले मंगलबार कांग्रेसले गर्न लागेको प्रदर्शनलाई ध्यानमा राखेर प्रहरीले गर्नुपर्ने सबै तयारीहरू गरिएको जानकारी दिए ।

Published : Monday, 2018 July 30, 6:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया