सिटौला समूहले नेविसंघमा देखायो नाङ्गो नाच

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूह निकट मानिने कुन्दनराज काफ्ले समूहले नेविसंघको १२औं महाधिवेशन घोषणा गरेको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरको कार्यसम्पादनबाट असन्तुष्ट रहेको भन्दै काफ्ले समूहले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महाधिवेशनको मिति घोषणा गरेको हो ।

उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा सोमबार र मंगलबार काठमाडौंको बाल्मीकी विद्यापीठमा बसेको केन्द्रीय समिति बैठकले २३ देखि २५ साउनसम्म कीर्तिपुरमा १२ औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

अध्यक्ष महरले संघठनलाई विधिवत तरिकाले नचलाई एकलौटी ढंगबाट चलाएको र केन्द्रीय समितिको मिति सकिन केही समय मात्र बाँकी रहँदासम्म महाधिवेशनको मिति घोषणा नगरेकाले बाध्य भएर मिति घोषणा गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

नेविसंघको केन्द्रीय समितिमा एक सय २९ निर्वाचित र २२ मनोनीत गरी एक सय ५१ सदस्य छन् । महाधिवेशन घोषणा गर्ने समूहमा एक सय ५१ सदस्यीय समितिको पनि बहुमत छ ।

काफ्ले समूहले उपाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा एकहजार एक सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न १३ उपसमितिहरू गठन गरेको छ ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष प्रकाश राना, नवीन राई, डिल्लीराम सुवेदी, रामप्रसाद अधिकारी र महामन्त्री कुन्दनराज काफ्लेको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा ९ देखि २२ साउनसम्मको महाधिवेशनको कार्यतालिका पनि सार्वजनिक गरिएको छ । विज्ञप्तिमा नगरपालिका, गाँउपालिका, प्रदेश, विश्वविद्यालय, जिल्ला अधिवेसन, प्रदेश अधिवेसन साउनको १८ अघि सक्ने उल्लेख छ ।

अध्यक्ष नैनसिंह महर समूहले काफ्ले समूहले नेविसंघभित्र नाङ्गो नाच देखाएको आरोप लगाएको छ ।

कम्युनिस्टहरूले कांग्रेसलाई प्रहार गरिरहेका बेला नेविसंघलाई कमजोर गर्ने गरेर काफ्ले समूहले महाधिवेशन घोषणा गरेर अराजक शैली देखाएको आरोप महर समूहले लगाएको छ ।

काफ्ले समूहको पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको उपस्थिति थिएन ।

Published : Wednesday, 2018 July 11, 7:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया