छैटौँ दिनमा ओली–प्रचण्डलाई मुद्दाको धम्की

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले आफ्नो दलको नामलाई केही ठूला कम्युनिस्ट पार्टीका नेता र सञ्चारमाध्यमहरूले दुरुपयोग गरेको भनेर आपत्ति जनाएका छन् ।

अध्यक्ष कट्टेलले बुधबार विज्ञप्ति जारी गरेर आफ्नो दलको नाममा अन्य कम्युनिस्ट पार्टीहरूको समाचार सम्प्रेषण नगर्न चेतावनी दिएका छन् ।

‘विगत केही दिनदेखि खासगरी एमाले र माओवादी केन्द्रको एकतापछि नेपालका संचार गृहहरूले यी दुई पार्टीलाई नेकपा र केपी ओली–प्रचण्डलाई यसको अध्यक्ष भनि भ्रामक र गैह्रकानूनी समाचार सम्प्रेषण गरी रहेकोप्रति पार्टीको ध्यान गम्भिर रुपमा आकर्षित भएको छ । तथ्य र सही समाचार सम्प्रेषण गर्न स्मरण गराउँद छौ ।’

अध्यक्ष कट्टेलले भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी २०६९ सालमा नेपालको अन्तरिम संविधान अनुसार निर्वाचन आयोगमा दर्ता भई क्रियाशील रहेको र नेपालको संविधान २०७२ र दलसम्वन्धिकानुन २०७३ अनुसार निर्वाचन आयोगमा बिधिवत दर्ता भएको दल हो ।
दल सम्वन्धि एैन २०७३ मा एउटै नामको दुई दल दर्ता हुन नसक्ने प्रष्ट कानूनी ब्यवस्था छ ।’

‘जाहासम्म एकता भएको भनिएको दलले निर्वाचन आयोगमा नेकपाको नाममा दल दर्ता गरेको भनिप्रचार गरिएको छ त्यो सरारस झुटहो’, उनले भनेका छन्, ‘उनीहरूले नेकपा भने पनि निर्वाचन आयोगले अस्वीकार गरी अन्डर लाईन लगाएर चिठी निवेदनसम्म दर्ता गराएको कुरा सुन्नमा आएको छ । सुनेको कुराको कानूनी अर्थ रहँदैन । निर्वाचन आयोगले दल दर्तापछि राजपत्रमा प्रकाशित गर्नुपर्ने कानूनी ब्यवस्थानै छ ।’

नेकपाका अध्यक्ष कट्टेलले भनेका छन्, ‘यस्तो प्रष्ट कुरा हुँदाहुँदै देशका संचार गृहले सत्ताको तावेदारको रुपमा झुटा र गैह्र कानूनी समाचार सम्प्रेषण गर्नु दुःखद् र निन्दनीय कार्य हो । यस्तो कार्यले संचार जगतको मार्यादा, निष्पक्षता र विस्वसनीयतामा गम्भीर प्रश्न उठने प्रष्ट छ । तसर्थ सही समाचार सम्प्रेषण गर्न र आफ्नो कानूनी हकसंरक्षण गर्न अदालत जानुपर्ने वाध्यत्मक अवस्था सिर्जना नगर्न समस्त संचार जगत लाई नेकपा आग्रह गर्दछ ।’

अध्यक्ष कट्टेलले ओली र प्रचण्डले नेकपाको नाममा कुनै पनि गतिविधि गरे वा सञ्चारमाध्यमहरूले पनि नेकपाको नाममा गलत समाचार दिए अदालत जाने धम्की दिएका छन् ।

Published : Wednesday, 2018 May 23, 11:17 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया