पश्चिमा राष्ट्रहरूको उक्साहटमा मोदीको विरोध गर्ने यो दल

काठमाडौं । युरोपियन युनियनको आडभरोसामा चलेको पार्टी भनेर आरोप लागेको विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफ्नो सत्ता टिकाउन प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति लम्पसारवाद चरित्र देखाएको आरोप लगाएका छन् ।

मोदीको विरोध गर्दै साझा पार्टीले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेर व्यानर च्यातेर फालिदिएको थियो । त्यसपछि आक्रोशमा आएका संयोजक मिश्रले विरोध प्रदर्शन बिथोलेर प्रधानमन्त्री ओलीले भारतकाप्रति पुरानै लम्पसारवाद चरित्र देखाएको टिप्पणी गरे ।

मिश्रले ओलीको विगत सबैका अघिल्तिर प्रष्ट हुँदाहुँदै पनि नाकाबन्दीको बेला जनमत बटुल्न र चुनावमा जित्नका निम्ति राष्ट्रवादको डंका पिटेका बताए । मिश्रले भने, ‘अब चाहिँ सत्ता टिकाउनका निम्ति फेरि पुरानै लम्पसारवाद चरित्र देखाउन थालेका हुन् ।’

ललितपुरको बखुण्डोलस्थित पार्टी कार्यालयको भवनमा झुण्ड्याइएको ब्यानरमा ‘मोदीजी स्वागत छ । तर, नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने लेखिएको ब्यानर राखेपछि प्रहरीले हस्तक्षेप गरेर हटाइदिएको थियो ।

‘केपी ओली कस्ता मानिसहरूसँग भेट्थे र भारतसँग कुनस्तरले सम्बन्ध गाँसेर बसेका थिए भन्ने कुरा थुप्रै पुस्तक, पत्रिका र दस्ताबेजहरूमा जगजाहेर भएकै कुरा हो’, मिश्रले भने, ‘चुनावको मुखमा नेपाली जनतालाई झुक्याउन सफल भएका उनको राष्ट्रवादको खोक्रोपना अहिले उजागर भएको छ ।’

पश्चिमा र अमेरिकनबाट आर्थिक सहयोग लिएर सञ्चालन भएका केही अनलाइन पोर्टलहरूले मोदीको विरोधमा साझा पार्टीले गरेको विरोधको कार्यक्रमको महत्वदिएर समाचार सम्प्रेषण गरेका छन् ।

साझा पार्टीलाई पश्चिमा राष्ट्रहरूको आर्थिक सहयोगमा सञ्चालित दलको आरोप लाग्दै आएको छ । यो आरोप स्वीकार गर्न संयोजक मिश्र तयार छैनन् ।

Published : Friday, 2018 May 11, 8:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया