दाङकी सांसदले गरिन् संसदमा गाई हत्याको विरोध

काठमाडौं । एमालेकी सांसद गंगा चौधरीले गाई हत्याको विरोध गर्दै नेपाललाई शाकाहारी देश बनाउनु पर्ने माग गरेकी छिन् ।

संसदको शुक्रबारको बैठकमा सम्बोधन गर्दै सांसद चौधरीले गाई मात्रै नभइ कुनै पनि पशुपंछीको हत्या गरेर मासु खानु उचित नभएको बताइन् ।

‘गौतम बुद्धको हाम्रो देशमा गाईलाई काटेर मासु खान पाउनुपर्छ भनेर सञ्चारमाध्यममा समाचार आएका छन्’, उनले भनिन्, ‘यदि त्यस्तो माग उठेको हो भने त्यो गम्भीर विषय हो ।’

कुनै पनि धर्म वा जाति विशेषलाई ठेस पु¥याउने आफ्नो कुनै मनसाय नरहेको बताएकी सांसद चौधरीले भनिन्, ‘सकिन्छ भने नेपाललाई शाकाहारी देश घोषणा गरौँ । मान्छेले जस्तो बोल्न नसक्ने पशुपंछीको हत्या र बलि दिने परम्पराको अन्त्य गरौँ ।’

भारतको गुजराज राज्यमा मासु, माछा, जाँड र रक्सीमा प्रतिवन्ध लगाएको स्मरण संसदलाई गराउँदै एमालेकी सांसद चौधरीले भनिन्, ‘पशु हत्या अत्यन्तै निन्दनीय विषय हो । पशुको पनि अधिकार हुन्छ । त्यसका बारेमा नेपाल सरकारले विशेष ध्यान दिनुपर्छ ।’

‘देवी–देउताले कहिल्यै पनि आफ्नो सन्तानको बलि माग्दैनन्’, सांसद चौधरीले भनिन्, ‘जिब्रोका स्वादका लागि बलि दिने कुरा रोक्नु पर्छ । गाईको हत्या गरेर मासु खाने कुरा हुनु हुँदैन । कुनै पनि जनवारको हत्या गर्नु दुःखको कुरा हो । बलि दिएर पशुपंछीलाई काटेर खानु हुँदैन ।’

‘आफ्ना छोराछोरी वा परिवारका कुनै पनि सदस्यलाई काटमारको कुरा गर्दा कस्तो हुन्छ ?’, प्रश्न गर्दै सांसद चौधरीले भनिन्, ‘हामीलाई कत्तिको चित्त दुख्छ ? बोल्न नसक्ने जवारको पनि पीडा र दुःख हामीले बुझ्नुपर्छ ।’

नेपालको राष्ट्रिय जनावर एवम् हिन्दूहरूले पूजा गर्ने गाईलाई काटेर मासु खान पाउनुपर्छ भनेर केही समुदायले माग गरिरहेका बेला संसदमा त्यसको जोडदार विरोध भएको हो ।

Published : Friday, 2018 March 30, 10:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया