प्रहरीका ठूलै हाकिमको जागिर धरापमा, जनताको पक्षमा उभिए आईजीपी

काठमाडौं । लेनदेनको विषयलाई अपहरण गरेको आरोप सहित भारतीय नागरिकलाई थुनामा राखेपछि महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख एसएसपी गणेश ऐरसँग प्रहरी मुख्यालयले स्पष्टीकरण मागरेको छ ।

प्रहरी मुख्यालयले गैर कानूनी गतिविधिमा संलग्न भएको भन्दै एसएसपी ऐरसँग स्पष्टीकरण माग गरेको उच्च स्रोतले जनाएको छ । एसएसपी ऐरले चित्त बुझ्दो जवाफ दिन सकेनन् भने उनको जारी समेत जाने गरेर कारबाही हुन सक्नेछ ।

कात्तिक २४ गते ललितपुर निवासी दिलिप डंगोल र उनकी श्रीमती नीता डंगोललाई अपहरण गरेको आरोपमा पुल्चोक प्रहरी प्रभागले भारतीय नागरिक रविन्द्र सिंहलाई पक्राउ गरी हिरासतमा राखेको थियो ।

अपहरण तथा शरीर बन्धक जस्तो गम्भीर मुद्दा चलाए पनि यो विषय ‘व्यक्तिगत स्वार्थ राखी बदनियतपूर्ण तवरबाट तथ्य प्रमाण तथा घटनालाई बङ्ग्याई कागजपत्र तयार पारी अनियमित तथा गैरव्यवसायिक काम कारबाही गरेको’ हेडक्वार्टरले गरको अनुसन्धानको प्रतिवेदनमा देखिएको छ ।

आर्थिक लेनदेनको प्रलोभनमा मुद्दा चलाएको देखिएको भन्दै हेडक्वार्टरले एसएसपी ऐरसित स्पष्टीकरण मागेको हो ।

घटनामा जोडिएका प्रभागका प्रहरी निरीक्षक गोविन्द पन्थीलाई भने निलम्बनको लागि हेडक्वार्टरले गृह मन्त्रालयलाई पत्राचारसमेत गरिसकेको छ । निरीक्षक पन्थीले भने आफू कुनै आर्थिक गतिविधिमा संलग्न नभएको दावी गरेका छन् ।

हेडक्वार्टरले गरेको अनुसन्धानमा जुन दिन रविन्द्रले अपहरण गरेको भनिएको थियो, त्यही दिन लिलिपले दिउँसो ३ बजे प्रहरी निरीक्षक पन्थीलाई प्रभागमा गएर भेटेको खुल्न आएको छ ।

दिलिप पुल्चोकको पाँच स्थानमा भेटिएको र निरीक्षक पन्थीसँग पटक–पटक मोबाइलमा कुरा भएको अनुसन्धानमा देखिएको प्रतिवेदनमा उल्लेख छ ।

दिलिपकी श्रीमती नीतालाई दिउँसो १२ बजेदेखि साढे सात बजेसम्म आफ्नै घरमा रविन्द्रले बन्धक बनाएको भन्ने आरोपमा मुद्दाको प्रक्रिया अघि बढाए पनि बन्धक बनाएको जस्तो नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पदीय आचरण विपरितका गतिविधि गर्ने एक दर्जन बढी प्रहरीलाई कारबाही गरिसकेका छन् । केही प्रहरीको जागिर समेत गएको छ । केही उच्च प्रहरी अधिकारीहरू निलम्बनमा छन् । महानिरीक्षक अर्यालले जनतालाई दुःख दिने प्रहरी अधिकारी र जवानहरूलाई आफ्नो छेउछाउ समेत पर्न दिँदैनन् ।

Published : Monday, 2018 February 19, 5:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया