आइजीपी फ्रान्समा रहेका बेला गृहमन्त्री लामिछानेले शक्तिशाली ठाउँका ३ एसएसपीहरू हटाइदिए

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) विदेश रहेका बेला गृहमन्त्री रवि लामिछानेले केही एसएसपीहरूलाई तानेर अन्यलाई पठाएका छन् ।

शुक्रबार गृह मन्त्रालयले नेपाल प्रहरीका ६ एसएसपीको सरुवा गरेको उच्च स्रोतले जनाएको छ ।

समय नसकिदै सरुवा हुने एसएसपीमा जिल्ला प्रहरी परिसर काठमाडौंका भुपेन्द्र खत्री छन् । खत्रीलाई गृहमन्त्री लामिछानेले ८ महिनामै हेडक्वाटरमा तानेका छन् । एसएसपी खत्रीलाई अपराध अनुसन्धान विभाग नक्सालमा सरुवा गरिएको छ । खत्रीलाई कार्यसम्पादन राम्रो गर्न नसकेको भनेर गुनासाहरू आइरहेका बेला हेडक्वाटर तानिएकाे छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, भीनभवनका प्रमुख (एसएसपी) सोमेन्द्रसिंह राठौरलाई पनि हेडक्वाटर सरुवा गरिएको छ । राठौरलाई पनि गृहमन्त्री लामिछानेले ८ महिनामै सरुवा गरेका छन् । राठौरले अपराध अनुसन्धान कार्यालयमा निकै राम्रो कार्यसम्पादन गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा गृहमन्त्री लामिछानेले एसएसपी वसन्त रजौरेलाई पठाएका छन् । अपराध अनुसन्धान कार्यालयमा एसएसपी सानुराम भट्टराईको सरुवा भएको छ ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका एसएसपी राजन अधिकारीलाई हेडक्वाटर तानेर एसएसपी अभिनारायण काफ्लेलाई गृहमन्त्री लामिछानेले पठाएका छन् ।

यसअघि, गृहमन्त्री लामिछानेले महोत्तरी, सर्लाही, बारा, बाँके लगायतका एसपीहरूलाई समय नपुग्दै अर्थात २ महिनाभित्रै सरुवा गरेर अन्याय गरेका थिए ।

आइजीपी कुँवर फ्रान्स भ्रमणमा रहेका बेला यता गृहमन्त्री लामिछानेले एसएसपीहरूको सरुवा गरेर प्रहरी हेडक्वाटरभित्र उथलपुथल ल्याइदिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन एसएसपीहरूका लागि निकै आकर्षक र शक्तिशाली ठाउँ मानिन्छ । ती ठाउँमा गृहमन्त्री लामिछानेले आफू अनुकूलका एसएसपीहरू ल्याएर आइजीपी कुँवरलाई चकित तुल्याइदिएका छन् ।

लामिछाने गृहमन्त्री बनेर आउनेवित्तिकै सबैभन्दा पहिला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीमा पनि प्रहार गरेका थिए । लामिछानेले तत्कालीन एआइजी किरण बज्राचार्यलाई हटाएर एआइजी श्यामलाल ज्ञवालीलाई लगेका थिए । प्रहरीमा प्रहार गर्ने क्रम गृहमन्त्री लामिछानेको जारी छ ।

गृहमन्त्री लामिछानेले झापा, मोरङ, पर्सा र रुपन्देहीका विवादास्पद एसपीहरूलाई चलाएका छैनन् । ती जिल्लाका प्रहरी प्रमुख (एसपी)हरू निकै विवादमा पर्दा समेत गृहमन्त्री लामिछानेले बचाएर राखेका छन् ।

गृहमन्त्री लामिछानेको मीठाइको पोको बोकेर बँड्न हिँड्ने गरेका आइजीपी कुँवरलाई एसपी र एसएसपीहरूको आकस्मिक सरुवालाई लिएर आलोचना भइरहेको छ । गृहमन्त्री लामिछानेसामु अडान लिन नसक्ने आइजीपी भनेर कुँवरको आलोचना र विराेध भइरहेका छन् । आइजीपी कुँवर लामिछानेका सामू बोल्न सकेका छैनन् ।

Published : Friday, 2024 April 26, 1:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया