आलोचना खेप्दै आएका देउवाले दिए चमेलियाबाट ‘सरप्राइज’

दार्चुला । बैतडी र दार्चुलाको सिमानामा पर्ने बलाँचमा १० वर्षअघि सुरु गरिएको चमेलिया जलविद्युत आयोजना सम्पन्न भएको छ ।

चमेलियाको उत्पादनले लोडसेडिङ अन्त्यमा ठूलो भूमिका खेल्नेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार दार्चुलाको बलाँचमा आयोजित कार्यक्रममा आयोजनाको उदघाटन गरेका छन् ।

देउवाले समग्र सात नं. प्रदेशको विकासको ढोका चमेलियाले खोलेको बताए । उनले त्यस क्षेत्रमा जलविद्युतको संभावना प्रसस्त रहेको भन्दै स्थानीय व्यवसायीले पनि जलविद्युतमा लगानी बढाउनु पर्ने बताए ।

‘मैले सुरु गरेको जलविद्युत आयोजनाको उद्घाटन गर्ने अवसर मैले नै पाएँ । यस्तो अवसर थोरैले मात्रै पाउँछन्’, उनले भने, ‘अब सम्पूर्ण देश विकासका काममा समर्पित हुनुपर्छ । यो क्षेत्रले पनि विकासका कामलाई प्राथमिकता दिनुपर्छ ।’

सात नं. प्रदेशमा २० हजार मेगावाट जलविद्युत उत्पादनको संभावना रहेको पनि बताए । अहिले नै त्यस क्षेत्रमा २५० मेगावाट भन्दा धेरै क्षमताका आयोजना निर्माणाधीन रहेको देउवाले उल्लेख गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लामो प्रसारण लानइ र भेरिएसनलगायतका कारण आयोजना केही महँगो जस्तो देखिएको बताए । ‘आयोजनाको लागत १५ अर्ब खर्च भएपनि ६ अर्ब १८ करोड रुपैयाँ प्रशारण लाईन र अन्य प्रशासनिक खर्च भएकोले उत्पादन खर्च ९ अर्ब पनि भएको छैन । अन्य आयोजना बनाउन बाटो खुलेकाले कठिन भूगोलमा आयोजना बन्नु सबैभन्दा ठूलो कुरा हो’, उनले भने ।

२०६४ सालदेखि निर्माण सुरु भएको आयोजना ८ अर्ब रुपैयाँ लागतमा बन्ने भनिए पनि समयमै निर्माण सम्पन्न गर्न नसक्दा १५ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ ।

आयोजना प्रमुख अजय दाहालका अनुसार पुस २८ गतेदेखि यसको एउटा युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । यस जलविद्युत आयोजनामा १५ मेगावाटका दुई वटा युनिट छन् ।

आयोजनाबाट वार्षिक १८ करोड ४२ लाख १० हजार युनिट विद्युत उत्पादन हुन्छ । आयोजना नबन्दा प्राधिकरणलाई वार्षिक डेड अर्ब रुपैयाँ घाटा भइरहेको थियो । प्राधिकरणको उपभोत्ता महसुल औसतमा ८ रुपैयाँ ६० पैसा छ । यसका आधारमा एकातर्फ प्राधिकरणले आयोजनाबाट वार्षिकरुपमा १ अर्ब ५८ करोड ४२ लाख रुपैयाँ गुमाइरहेको थियो ।

आयोजनाको बाँध, विद्युतगृह, सुरुङलगायत सिभिल संरचना निर्माण गर्न चिनियाँ कम्पनी सिजिजिसीसित सुरुमा २ अर्ब ८८ करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

निर्णय प्रक्रियामा प्राधिकरणबाट भएको ढिलाइ, सम्झौताको फितलो कार्यान्वयन, कमजोर भू–बनोटलगायतले आयोजनाको सिभिलतर्फको लागत ५ अर्ब ४२ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

आयोजनाको हालसम्मको यथार्थ खर्च एवं निर्णय प्रकृयामा रहेका विभिन्न ठेक्कासँग सम्बन्धित भेरिएन क्लेमसमेत गरी आयोजनाको कूल लागत करिब १५ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

यसमध्ये विद्युतगृहतर्फको जग्गा खरिद, सिभिल निर्माण र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकल कार्यका लागि करिब ७ अर्ब ८४ करोड एवं परामर्श सेवातर्फ करिव ६० करोड गरि जम्मा ८ अर्ब ४४ करोड खर्च भएको छ ।

चमेलियाको बत्ती राष्ट्रिय प्रसारण लाइनमा जोड्न १३१ किलोमिटर लामो बलाँच–अत्तरिया प्रसारण लाइन निर्माण गरिएको छ । यो प्रसारण लाइन निर्माणमा २ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ ।

प्राधिरकणले १३२ र ३३ केभी तथा ३३ र ११ केभ सबस्टेशन निर्माण तथा ३३ र ११ केभी प्रसारण लाइन निर्माणमा १९ करोड ४८ लाख रुपैयाँ खर्च गरेको छ ।

Published : Saturday, 2018 February 10, 5:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया