ओली र प्रचण्डले महाभुल गरे : कृष्णप्रसाद सिटौला

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफू जनआन्दोलनमा लागेर गणतन्त्र ल्याउनका लागि महत्वपूर्ण योगदान दिएको व्यक्ति भएकाले जनताले खुशीसाथ आफूलाई मतदान गर्ने बताएका छन् ।

झापास्थित निर्वाचन क्षेत्रमा नै पुगरे रिपोर्टर्स क्लब नेपालले गरेको चुनावीबहसमा कुरा गर्दै गणतन्त्र ल्याउनका लागि रगत बगाएका सहिदको सम्मानका लागि पनि आफूलाई मतदान गर्नुपर्ने तर्क सिटौलाले गरेका छन् ।

‘परिवर्तनको पक्षमा रहेको कुनै पनि मतदाताले मलाई छोडेर राप्रपाका उम्मेदवारलाई भोट हाल्नै सक्दैनन् । यो मेरो विश्वास हो’, सिटौलाले भने ।

जनआन्दोदनमा आफ्नो भूमिका कस्तो थियो भन्ने कुरा मतदातालाई राम्रोसँग जानकारी भएको बताउँदै सिटौलाले त्यही आन्दोलन दबाउन शक्तिको दुरुपयोग गर्ने दलका नेतालाई जनताले भोट हाल्न नसक्ने दाबी गरे ।

आफूले झापा क्षेत्र नम्बर ३ बाट चुनावजितेर पहिलोपटक कार्यकाल पूरा गरेको बताउँदै सिटौलाले ६ पटक चुनाव लड्दा तीन पटक जिते पनि बाँकी २ पटकको कार्यकाल भने पूर्ण रुपमा विताउन नपाएको जानकारी दिए ।

दोस्रो संविधानसभाको चुनावका बेला संविधाननिर्माण गर्छु भनेर भोट मागेको स्मरण गर्दै सिटौलाले कांग्रेसकै सभापतिको नेतृत्वको सरकारको अगुवाईमा संविधाननिर्माण भएको बताए । उनले आफू संविधान मस्यौदा समितिको सभापतिको हैसियतले संविधान निर्माणमा प्रत्यक्ष र महत्वपूर्ण भूमिका खेलेको जनतालाई स्मरण गराए ।

प्रतिस्पर्धी राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनलाई उनले राजाको शासनकालमा के विकास भयो भनेर प्रश्न गरेका छन् । ‘राजा ज्ञानेन्द्रको शासनकाल ४ वर्ष चल्यो । यही राप्रपाका नेताहरू उनका हर्ताकर्ता भए । देश दमको चक्रव्यूहमा फस्यौँ । विकास भएन’, सिटौलाले भने ।

पछिल्लो समय वाम गठबन्धनका कारण कांग्रेस कमजोर भयो भनिएको छ नि भनेर गरेको प्रश्नको सिटौलाले खण्डन गरेका छन् । नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने दाबी सिटौलाको छ । ‘निर्वाचनपछि कांग्रेस एक नम्बर पार्टी बन्छ । फरक पर्दैन । निर्वाचन परिणामले देखाउँछ’, उनले भने ।

नेपाली कांग्रेसको नेतृत्वमा संविधान आएको स्मरण गराउँदै सिटालाले संविधान जारी भएपछिको पहिलो चुनाव कांग्रेसले कसरी हार्छ भनेर प्रश्न गरे । ‘वाम तालमेल गरिए पनि जनताको सबै मत जाने भन्ने हुँदैन’, सिटौलाको भनाई थियो ।

Published : Tuesday, 2017 November 14, 12:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया