उम्मेदवार जिताउन दाङ कांग्रेसले तोक्यो ‘कमाण्डर’, राप्रपा(प्र)को पनि समर्थन

घोराही । राष्ट्रिय प्रजातन्त्रिक पार्टी (प्रजातान्त्रिक)बाट प्रदेश सभामा उम्मेदवारी दिएका ईश्वरीप्रसाद शर्माले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।

आइतबार घोराहीमा पत्रकार सम्मेलन गरेर शर्माले दाङ क्षेत्र नम्बर २ (क) मा कांग्रेसका उम्मेदवार कमलकिशोर घिमिरेलाई सहयोग गर्ने जनाएका हुुन् । शर्माले कांग्रेसको जित भयो भने मात्रै आर्थिक समृद्धि हुने बताए ।

कांग्रेसका उम्मेदवार कमलकिशोर घिमिरेले लोकतान्त्रिक शक्तिलाई विजयी गराउन सहयोग गर्न सबैलाई आग्रह गरे । उनले कम्युनिष्टहरूको एकताले प्राप्त उपलव्धी नै गम्ने खतरा रहेकाले कांग्रेसका उम्मेदवारहरूलाई जिताउनु पर्ने बेला आएको दाबी गरे ।

दाङ क्षेत्र नम्वर २ प्रतिनिधिसभाका उम्मेदवार राजु खनालले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसका पक्षमा मतदान गर्न आग्रह गरे ।

‘कम्युनिष्टहरूले मिठा कुरा गरेर जनतालाई भ्रममा पार्ने मात्रै काम गर्छन्’, उनले भने, ‘अब देशको विकासमा फेरि पनि कांग्रेसले नेतृत्व गर्नुपर्छ ।’

निर्वाचनका विभिन्न समितिहरू गठन

मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले विभिन्न समितिहरू गठन गरेको छ ।

क्षेत्रीय समितिको आइतबार बसेको बैठकले मूल समिति एवं उपसमितिहरू गठन गरेको हो । बैठकले ६ हजार ५ सय ५१ सदस्यीय प्रचार–प्रसार मूल समिति गठन गरेको छ ।

समितिको संयोजकमा क्षेत्रीय सभापति भुपबहादुर डाँगी र सह–संयोजकमा क्षेत्र नम्बर २ का सभापति गिरिराज सुवेदीलाई दिइएको छ ।

बैठकले वीरकेश्वरी गौतम संयोजक रहेको अनुगमन समिति, तीर्थराज ज्ञवाली संयोजक रहेको सल्लाहकार समिति, रेवतिरमण भट्टराई संयोजक रहेको कानूनी परामर्श उपसमिति, भगतसिंह भण्डारी संयोजक रहेको यातायात व्यवस्थापन उपसमिति, आर.के.शीतल संयोजक रहेको सञ्चार व्यवस्थापन उपसमिति, तरुण दल दाङका जिल्ला उपाध्यक्ष विमलमान श्रेष्ठ संयोजक रहेको युवा परिचालन उमसमिति, राजेन्द्र दाहाल संयोजक रहेको सांस्कृतिक उपसमिति गठन गरेको छ ।

घोराही, नारायणपुर, विजौरी र बंगलाचुली गाँउपालिकाको कमिरेचौर गरी ४ स्थानमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको सचिव कमल गौतमले जानकारी दिए ।

तरुण दल दाङले पनि निर्वाचनका लागि युवा परिचालन समितिहरू गठन गरेको छ । जिल्ला अध्यक्ष टीका घर्ती संयोजक रहेको १ हजार १ सदस्यीय युवा परिचालन समिति गठन गरेको छ ।

समितिको सदस्यहरूमा जिल्ला पदाधिकारी र सदस्यहरू, क्षेत्रीय, गाँउपालिका, नगर तथा वडाका पदाधिकारी एवं सदस्यहरू रहने गरी समिति गठन गरिएको छ ।

नेविसंघले निर्वाचनका लागि मूल समिति गठन गरेको छ । क्षेत्रीय सभापति तिलक रावतको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा ऋषि पोख्रेल, डि.के जोशी, कुलराज पोख्रेल, शरद गिरी, ओमप्रकाश शर्मा, पारस भण्डारी, प्रवीणमान श्रेष्ठ, लेखनाथ बुढाथोकी, बलदेव मल्ल, हरि विष्ट र निरज गिरी रहेका छन् ।

Published : Sunday, 2017 November 5, 6:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया