डीएसपी बढुवामा ईन्स्पेक्टरहरूको नाम कहाँ हरायो ? गृहमन्त्रीका बिचौलियाहरूले कुम्ल्याए

काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर)हरूको प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवामा आर्थिक चलखेलको आरोप लागेको छ ।

एसपीसम्मको बढुवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले निष्पक्ष काम गरे पनि ईन्स्पेक्टरहरूको डीएसपीमा बढुवा गर्दा भने उनीहरूका नजिकका मानिसहरूले चलखेल गरेको बुझिएको छ । ईन्स्पेक्टर बढुवामा आईजीपी कुँवरको पनि केही चलेन । कुँवरले जम्मा एक जनालाई मात्रै बढुवा सिफारिसमा पार्न सकेका छन् ।

स्रोतका अनुसार गृहमन्त्री श्रेष्ठ निकटका सुशन कर्मचार्य, पवन कार्की, विजय गौतम र सुरेशकाजी श्रेष्ठले आर्थिक चलखेल गरेको आरोप लागेको छ । उनीहरूले गृहमन्त्री श्रेष्ठको आँखा छलेर केही ईन्स्पेक्टरहरूलाई बढुवा गराउन मोटो रकम लिएको दाबी गरिएको छ । गृह मन्त्रालयमा यी बिचौलियाहरूको बिगबिगी छ । उनीहरू विभिन्न होटलमा बसेर मोलमलाइ गर्ने गरेको आरोप लागेको छ ।

बढुवा सिफारिसमा राम्रो अंक पाएर पनि आयुष जोशी, दीपक मल्ल, धनबहादुर बोहरा, ऋषिराम घर्ती मगरहरू छुटेका छन् । उनीहरू बढुवा सिफारिसमा परेका थिए ।

४७ जना ईन्स्पेक्टरहरूलाई डीएसपी बढुवामा सिफारिस गरिएको रिपब्लिका दैनिकलाई प्राप्त सूचीमा उल्लेख छ । त्यसमा जम्मा ४६ जनाको मात्रै बढुवा सिफारिस गरिएको छ । एक जना ईन्स्पेक्टरको नाम कहाँ हरायो खोजीको विषय बनेको छ ।

विचौलियाको आरोप लागेका उनीहरूसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Published : Tuesday, 2023 June 6, 6:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया