सभामुख एमालेको कार्यकर्ता बनेर सहकारी ठगका आरोपी गृहमन्त्री बचाउन लागेपछि कांग्रेसले सचेत गरायो

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेलाई नेकपा (एमाले)प्रति बफादार नहुन सचेत गराएको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकपछि जारी विज्ञप्तिमा अनुसार कांग्रेसले सभामुख घिमिरेले संसदको बैठक निष्पक्ष रुपमा सञ्चालन गर्न नसकेको जनाएको छ । सभामुख घिमिरेले आफू आबद्ध दल एमालेप्रति देखाएको हर्कतप्रति कांग्रेसले चिन्ता जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधि सभाको बैठक सञ्चालनको विषयलाई हामी गम्भीरतापूर्वक हेरिरहेका छौं ।’

‘संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अबरुद्ध भएको मानिन्छ’, कांग्रेसले भनेको छ ।

‘सम्माननीय सभामुखले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत वैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ’, कांग्रेसले भनेको छ ।

‘संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनु पर्दछ । तटस्थताको लागि सभामुखले आफू निर्वाचित भएको दलसँगका सबै सम्बन्ध र पद समेत स्थगित गर्ने परम्परा रही आएको छ’, कांग्रेसले भनेको छ ।

‘सभामुख सिंगो सदनको सभामुख हुनु पर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न अनुरोध गर्दछ ।’

सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेका बारेमा अनुसन्धान गर्न संसदीय छानविन समिति बनाउनै पर्ने अडान दोहो¥याएको छ ।

कांग्रेसले भनेको छ, ‘लाखौं नेपाली नागरिकले सहकारी संस्थामा वचत गरेको अरबौं रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको र यस्ता अपराधजन्य कार्यमा नेपाल सरकारका उपप्रधान तथा गृह मन्त्री माननीय रवि लामिछाने संलग्न रहेको विषय निरन्तर उठिरहेको छ ।’

‘सहकारीका वचतकर्ताहरूले राखेको रकमको सुरक्षाको ग्यारेण्टी गर्न, वचत हिनामिना भई पीडित भएका वचतकर्ताहरुको रकम फिर्ता गर्न र हिनामिना, ठगीमा संलग्न माथि छानविन गरी कारवाही गर्ने सुनश्चितताको लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने विषय नेपाली कांग्रेस सहित संघीय संसदमा धेरै दलहरूले उठाई रहेका छन्’, कांग्रेसले भनेको छ ।

‘यो विषय सम्पूर्ण नेपाली जनताको चासो र सरोकारको विषय भई संसद बाहिर पनि गम्भीर रुपले उठिरहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टि हुँदै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस संसदीय दलको यो बैठक संसदीय छानविन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ ।’

‘नेपाल सरकार सहकारी ठगीबाट पीडित भएका नागरिकप्रति गैरजिम्मेवार र संवेदनहीन हुँदै सहकारीका ठग बचाउने कार्यमा लागेको यो बैठक ठहर गर्दछ’, कांग्रेसले भनेको छ ।

‘सरकार र सत्ता पक्षलाई जनहित विरोधी यस्ता कार्यमा नलाग्न चेतावनी दिन चाहन्छ’, कांग्रेसले भनेको छ ।

Published : Friday, 2024 May 17, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया