संविधान संशोधन गर्न उपप्रधानमन्त्री यादबको दवाव

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादबले सहमति भएअनुसार संविधान संशोधन गरेर मुलुकका विभिन्न समस्याहरूको समाधान गरिनुपर्ने बताउनुभएको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहनु भएका मन्त्री यादबले काठमाडौंमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक समस्याको समाधानका लागि संविधान संशोधनमा सहमति भएको बताउनुभयो ।

संविधान संशोधनको चर्चा फेरि एक पटक उठेका बेला उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादबले पनि सो विषयलाई पुनः स्मरण गराउनुभएको हो ।

‘जबसम्म शोषण उत्पीडन हुन्छ तबसम्म राजनीतिक आन्दोलन भइरहन्छ । संघर्षहरू भैरहन्छन्’, उहाँले भन्नुभयो, ‘जबसम्म राज्यमा एकल वर्चश्व रहन्छ राजनीतिक समस्या हल भएको मानिदैन ।’ मन्त्री यादबले भन्नुभयो, ‘यी यावत समस्या समाधान गर्न संविधान संशोधनको सहमति भएको छ । अब संविधान संशोधन गरेर समस्याको समाधान गर्नुपर्छ ।’

विविध आन्दोलने प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै मन्त्री यादबले बाँकी अधिकारको निम्ती आन्दोलन र संघर्षबाट प्राप्त गर्नुपर्ने बताउनुभयो । ‘राजनीतिक अधिकारको संघर्षसँगै आर्थिक उन्नती पनि अपरिहार्य छ’, उहाँले भन्नुभयो, ‘राज्य उदार दिलले पनि समावेसी हुन सकेको छैन ।’

अझै पनि संघीय र समावेशितामा विभेद कायम रहेको उहाँले बताउनुभयो । ‘जबसम्म विभेद कायम रहन्छ तबसम्म राजनीतिक समस्या हल भएको मानिदैन’, यादबले भन्नुभयो, ‘भाषा, लिङ्ग, जनताका आधारमा गरिने विभेद कायम राखेर समाजवाद आउँदैन ।’

लोकतन्त्रलाई पूर्ण समावेसी बनाउने कार्यमा संघीय समाजवादी फोरम नेपालले मात्रै सहयोग गर्न सक्ने मन्त्री यादबले बताउनुभयो ।

काठमडौंमा सडक चौडा बनाउने काममा मुआब्जा नदिइ सडक विस्तार गर्नु संविधान विपरितको कार्य भएको मन्त्री यादबले उल्लेख गर्नुभयो । ‘वैकल्पिक व्यवस्था नगरी सुन्दर शहर बन्दैन’, उहाँले भन्नुभयो, ‘सांस्कृतिक धरोहरलाई जोगाउनुपर्छ । सांस्कृतिक धरोहरहरू नष्ट भयो भने पहिचान पनि नष्ट हुन्छ ।’

संघीय प्रणालीलाई व्यवहारिक बनाउनुपर्नेमा पनि मन्त्री यादबले सुझाव दिनुभएको छ । ‘संघीयता र पहिचानलाई अलग गरिँदा विद्रोह ज्यूँका त्यूँ रहँन्छ’, उहाँले भन्नुभयो, ‘विद्रोहलाई मत्थर गर्न संघीयतामा पहिचान जोडिनुपर्छ ।’

Published : Saturday, 2018 July 21, 8:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया