मोहन बस्नेतद्वारा इन्द्रवतीमा भूमिडाँडा स्वास्थ्य चौकीको भवन सिलान्यास

इन्द्रावती । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिटामोल लिन पनि ५ घण्टा हिडेर जानुपर्ने अवस्थाको अन्त्य गर्न आफू लागेको बताएका छन् ।

सोमबार सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका २ जौडाँडामा आयोजित भूमिडाँडा स्वास्थ्यचौकीको भवन सिलान्यास गर्दै बस्नेतले जनताको हितको लागि सधै काम गर्ने बताए । उनले जनताको काम गर्नकै लागि आफू जनताको मतबाट निर्वाचित भएको बताएका छन् ।

पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका नेता बस्नेतले सामान्य सिटामोल पाउन पनि दिनभरि हिँडेर जानुपर्ने अवस्थाको अन्त्य गर्न विद्यामान कानूनले रोक्यो भने संशोधन गरेरै भएपनि सेवा, सुविधाको व्यवस्था गरिने बताएका छन् ।

‘नीतिअनुसार वडामा एउटा स्वास्थ्य चौकी भन्नेछ, पहिला भए गाविसमा एउटा थियो’, उनले भने, ‘सिटामोल लिन पनि पाँच घण्टा हिडेर जानुपर्ने अवस्थाको अन्त्यका लागि एउटा मात्रै भन्ने कानून पनि संशोधन गर्नुपर्ने हुन्छ ।’

आफू स्वास्थ्यमन्त्री भएको बेलामा एकैपटक ३९ वटा वडाहरूमा स्वास्थ्यचौकी भवनका लागि बजेट विनियोजन गरिएको बस्नेतले बताएका छन् ।

इन्द्रावतीको स्वास्थ्यचौकी पनि त्यहीमध्येको एउटा भएको नेता बस्नेतले बताएका छन् । स्वास्थ्यचौकी भवन निर्माणका लागि ३८ लाख ८६ हजार बजेट बिनियोजन गरिएको उनले बताएका छन् ।

कार्यक्रममा वडाध्यक्ष श्यामबहादुर गिरीले विनियोजित बजेटलाई सही सदुपयोग गरी समयमै काम सम्पन्न गर्न आफूले समन्वय गर्ने बताएका छन् ।

उनले भवन निर्माण सम्पन्न गर्न कुनै कठिनाई उत्पन्न भएमा वडा तहबाट पलिका हुँदै प्रदेश र संघीय तहसम्म समन्वय गर्न तत्पर रहेको बताए ।

Published : Monday, 2024 April 29, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया