विद्यार्थीलाई शैक्षिक सामग्री दिँदै कांग्रेस नेता बस्नेतले भने, ‘काम गर्न मन्त्री नै हुनुपर्छ भन्ने छैन’

इन्द्रावती । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचित जनप्रतिनिधिमा काम गर्ने क्षमताका साथै बुद्धि र विवेक हुनुपर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १ का सम्पूर्ण विद्यालयका शिक्षक र विद्यार्थीलाई शैक्षिक सामग्री तथा ट्रयाकसुट टीसर्ट लगायतका सामग्रीहरू वितरण कार्यक्रममा बस्नेतले काम गर्नका लागि पद र सरकारमा नै हुनुपर्छ भन्ने नरहेको बताए ।

पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले भने, ‘काम गर्नका लागि मन्त्री नै हुनुपर्छ भन्ने पनि छैन । महत्वपूर्ण पदमै हुनुपर्छ भन्ने पनि हैन । हिजो विद्यार्थीकालमा त धेरै काम गरेको मान्छे हुँ । साथ दिने तपाईहरू हुनुहुन्छ, जे परेपनि गर्न सक्छु ।’

उनले स्थानीयस्तरको विकास निर्माणका लागि दलगत स्वार्थ भन्दामाथि उठेर सोँच बदल्दै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

उनले विकासका लागि शिक्षा, स्वास्थ्य र सडकलगायतका क्षेत्रको विकासका लागि एकढिक्का भएर लाग्न स्थानीय जनप्रनिनिधि तथा स्थानीयबासीहरूलाई आग्रह गरेका छन् ।
नेता बस्नेतले विकासको पहिलो पाइला भनेकै शिक्षा रहेको बताउँदै पढेलेखेको मानिस नभए काम गर्न कठिन हुने बताएका छन् ।

दाताहरूको साथ र सहयोग लिएर विद्यालयको भौतिक पूर्वाधारलाई बलियो बनाउनुपर्ने उनले बताएका छन् । बस्नेतले अभिभावकहरूलाई विद्यार्थीको पढाइलेखाइको बारेमा ध्यान दिन अनुरोध गरेका छन् ।

समाजसेवी मोहनबहादुर गिरीको पहलमा इन्द्रावती गाउँपालिका १ मा रहेका विद्यालयका शिक्षक तथा विद्यार्थीलाई पाँच सय ४१ थान शैक्षिक सामग्री तथा ट्रयाकसुट, टी–सर्ट लगायतका सामग्री वितरण गरिएको छ ।

इन्द्रावती गाउँपालिका १ श्री सिपालेश्वरी माध्यमिक विद्यालय, नवकन्या आधरभूत विद्यालय, भूवनेश्वरी आधारभूत विद्यालय, गोल्मेश्वरी आधारभूत विद्यालय, हिमाञ्चल आधारभूत विद्यालय, बागेश्वरी आधारभूत विद्यालय रहेका छन् ।

कार्यक्रममा पूर्वगृहराज्यमन्त्री विष्णुविक्रम थापा, बागमती प्रदेशसभाका सदस्य कृष्णकुमार तामाङ, इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङ, नेपाली कांग्रेस सिन्धुपाल्चोकका उपसभापति टंक कार्की, वडाध्यक्षलगायतले मन्तव्य राखेका थिए ।

Published : Tuesday, 2024 April 30, 11:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया