वीरगञ्जमा होलमेटभित्र १८ लाख, दुई जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १८ लाख नेपाली रुपियाँसहित दुई जनालाई वीरगञ्जमा पक्राउ गरेको छ ।

हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको १८ लाख नेपाली रुपियाँ र २ हजार भारतीय रुपियाँसहित सशस्त्र प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका १६ स्थित वीरगंज–रक्सौला सडकखण्डबाट बुधबार दुई जनालाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

भारत घर बताउने २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रसंजित कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया कमाण्डको टोलीले रुपियाँसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

भातरीय नम्बर प्लेटको दुई वटा मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रुपियाँ तथा प्रतिबन्धित ५ सय दरको ४ थान भारतीय रुपियाँ समेत फेला परेको छ ।

फेला पारिएको नेपाली रुपियाँको श्रोत खुलाउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद रुपियाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यायल पर्सामा बुझाइएको छ ।

Published : Wednesday, 2023 February 8, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया