आइजीपी कुँवर र इन्डोनेसियन प्रहरी प्रमुख मुर्तीबीच शिष्टाचार भेटघाट

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्तीबीच भेटवार्ता भएको छ ।

बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा शिष्टाचार भेटघाट भएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूका बीच आपसी सहयोग, सूचनाको आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल समेत भएको छ ।

यसअघि आइजीपी कृष्ण मुर्ती समेत ६ सदस्यीय टोलीको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको सांगठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्य सम्बन्धी विषयमा प्रस्तुतीकरण गरेका छन् ।

आइजीपी कृष्ण मुर्तीले इन्डोनेसियन नेशनल प्रहरीको काम, कर्तव्यबारेमा विस्तृत रूपमा जानकारी दिँदै सूचना आदान प्रदान, अन्तरदेशीय अपराध, साइबर अपराध, संयुक्त राष्ट्र संघीय मिसनमा सहभागिता लगायतमा नेपाल प्रहरीसँग सहकार्य गरिने बताएका छन् ।

इन्डोनेसियन नेशनल प्रहरीका वरिष्ठ उपरीक्षक लियो एण्डी गुनावानले संयुक्त राष्ट्र संघीय मिसनमा इन्डोनेसियन नेशनल प्रहरीको सहभागिताबारे प्रस्तुतीकरण गरेका छन् ।

आइजीपी कृष्ण मुर्ती समेतको टोली ५ दिने भ्रमणका सिलसिलामा मंगलबार नेपाल आएको थियो ।

कृष्ण मुर्ती सहितको टोली राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

Published : Thursday, 2024 May 2, 2:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया