सहकारी ठग बचाउन ओली टोले बनेपछि गगनले दिए सुध्रिन चेतावनी

काठमाडौं । सहकारी ठगलाई बचाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमाथि एमालेका अध्यक्ष केपी ओलीको निर्देशन र डिजाइनमा सभामुख घिमिरेले मुठभेडको स्थिति सिजृना गराएपछि नेपाली कांग्रेसले ठूलो अडान लिएको छ ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर कांग्रेसका महामन्त्री गगन थापाले सभामुख घिमिरेका कारण मुठभेडको अवस्था आएको बताएका छन् ।

सभामुख घिमिरेले सदनमा जबरजस्ती कार्यसूचीमा प्रवेश गरेपछि अप्रिय स्थिति सिर्जना भएको थापाले बताएका हुन् ।

‘आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो, यसको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ’, थापाले भने, ‘किनकि सदनलाई जबरजस्ती कार्यसूचीमा प्रवेश गराएर एक प्रकारको अप्रिय अनपेक्षित स्थिति सिर्जना गर्ने कामको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ ।’

थापाले एउटा पार्टीको नेताको आदेशपालकको रूपमा सभामुखको भूमिका रहनु दुःखको विषय भएको बताएका छन् ।

‘यसरी निरन्तर रूपमा जाँदैन भन्ने अपेक्षा गर्छौं’, महामन्त्री थापाले भने, ‘उहाँको भूमिका जिम्मेवारीपूर्ण रूपमा निर्वाह गर्न सचेत गराउँछौँ ।’

महामन्त्री थापाले सदन अवरोध गरिराख्ने कांग्रेसको चाहना नरहेको बताएका छन् । ‘हामी सदनभित्र पनि कुनै मुठभेड चाहना र प्राथमिकता हुँदै होइन’, थापाले भने, ‘हामी सदनलाई अवरोध गर्ने चाहना भएको भए यतिका दिनसम्म उभिएर बोल्ने, सदनभित्र विधेयक प्रस्तुत गर्न दिने गर्दैनथ्यौं ।’

उनले भने, ‘पहिलो दिनदेखि नै वेल घेर्यौं होला । नीति तथा कार्यक्रम पनि अवरोध गर्थ्यौं होला । यो स्वयम् प्रधानमन्त्रीलाई थाहा छ ।’

‘निश्चित समय राखेर छानबिन गरौँ, गृहमन्त्रीले राजीनामा पनि दिनुपर्दैन भनेर प्रधानमन्त्रीसँगका छलफलमा भनेका छौँ’, महामन्त्री थापाले भने ।

उनले संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि नबढ्ने पनि बताए । ‘गृहमन्त्री, प्रधानमन्त्रीले बोल्ने कुरा हामीले तोक्ने होइन तर, संसदीय छानबिन समिति गठन नहुँदासम्म सदनको कामकारबाही अघि बढ्दैन’, महामन्त्री थापाले भने ।

महामन्त्री थापाले उनले सदनमा दुई पक्ष जस्तो देखिएको बताए । ‘एउटा सहकारी ठग जोगाउने पक्ष र अर्को सहकारी ठगलाई कारबाही गर्ने पक्ष’, थापाले भने, ‘यो विषयका सन्दर्भमा दुई पक्ष मात्रै छौँ हामी ।’

उनले भने, ‘सहकारी ठगलाई संरक्षण गर्ने पक्षमा उभिने कि कारबाही गर्ने पक्षमा लिएर जाने भन्ने कुरा सदनभित्र भएका राजनीतिक दलले सोच्ने र निर्णय गर्ने कुरा हो ।’

महामन्त्री थापाले एमाले अध्यक्ष केपी ओलीले कांग्रेसका सांसदलाई आफ्नो कार्यकर्ता सम्झिएको बताए ।

‘एमालेका अध्यक्ष एउटा कुरामा झुक्किनुभयो जस्तो लाग्यो’, थापाले भने, ‘उहाँले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्यो । एमालेका सांसदलाई उहाँको कुरा हो ।’

थापाले भने, ‘हप्काउने, धम्काउने, तर्साउने, उठबस गराउने उहाँले त्यो अधिकार पनि राख्नुहुन्छ होला । उहाँहरूको सम्बन्ध पनि त्यस्तै होला ।’

‘तर, नेपाली कांग्रेस पार्टीका बारेमा पनि नसोच्नुहोला । सांसदका बारेमा पनि नसोच्नुहोला’, महामन्त्री थापाले भने, ‘हामी तपाईँका कार्यकर्ता होइनौँ । तपाईँले हामीलाई अह्राउने होइन ।’

Published : Thursday, 2024 May 16, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया