सीताको जहाज र सिम्रिकको हेलिकप्टर आकस्मिक अवतरण, बुद्धको जहाज उडेन

काठमाडौं । सीता एयर र बुद्ध एयरको जहाज तथा सिम्रिक एयरको हेलिकप्टरमा समस्या देखिएको छ ।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट बनारस उड्ने तयारी गरेको बुद्ध एयरको एटीआर ७२ जहाज (बीएचए १६१) मा प्राविधिक समस्या देखिएको छ ।

प्राविधिक खराबीको संकेत आएपछि उड्ने तयारी गरेको बुद्ध एयरको जहाज पुनः पार्किङ वेमा फर्काउनु परेको छ ।

बुद्ध एयरको जहाजमा इण्डिकेटरले प्राविधिक समस्याको संकेत गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए । समस्या देखिएपछि जहाज उड्दै नउडी पार्किङमा फर्काइएको झाले बताए ।

जहाजमा सामान्य समस्याको सानो संकेत पाउँदा पनि पाइलटले जोखिम लिँदैनन् । हवाई उडान सुरक्षित गराउन समस्याका संकेत देखिनेवित्तिकै उडान रोक्ने गरिन्छ ।

उता, काठमाडौंबाट रामेछाप उडेको सीता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण गरेको छ ।

सोमबार बिहान करीव ९ बजेर ३० मिटनमा काठमाडौंबाट रामेछाप उडेको सीता एयरको ९०६ उडान नम्बरको जहाज २० मिनेटमा काठमाडौं फिर्ता गरिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताएका छन् ।

सीता एयरको जहाज विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । सबै यात्रुहरू सकुशल रहेको निरौलाले बताएका छन् । सीताको ट्वीनेटर जहाजमा ११ जना यात्रु रहेका थिए ।

सीता एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि पुनः काठमाडौं फर्किएर आकस्मिक अवतरण गरिएको महाप्रबन्धक निरौलाले बताएका छन् ।

आकस्मिक अवतरण गरेपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पु¥याइएको थियो ।

हाइड्रोलिकमा समस्या आउँदा अवतरणको क्रममा विमानमा ब्रेक लगाउन कठिनाइ हुन्छ ।

यता, इण्डिकेटरमा ढोका नलागेको संकेत देखिएपछि सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण गर्नु परेको छ ।

सोमबार बिहान काठमाडौंबाट लुक्ला उडेको नाइनएन एकेडी हेलिकप्टर धुलिखेलमा अवतरण गरिएको छ ।

विमानस्थलका प्रवक्ता झाले सिम्रिक एयरको हेलिकप्टरको इण्डिकेटरले संकेत गरेपछि सुरक्षाका दृष्टिकोणबाट सुरक्षित अवतरण गराएको बताए ।

धुलिखेलमा सिम्रिक एयरको हेलिकप्टरको ढोका सही तरिकाले लगाएपछि हेलिकप्टर पुनः लुक्ला उडेको छ ।

Published : Monday, 2024 April 29, 2:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया