सहकारी ठगका आरोपी गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनै पर्ने कांग्रेसको लिखित निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम अपचलन र ठगीका विषयमा संसदीय छानविन समिति नबनाउँदासम्म सदनको कामकारबाही अवरुद्ध हुने जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले सहकारी ठगीका विषयमा संसदीय छानविन समिति बनाउनुपर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे अनुसन्धान गर्न संसदीय छानविन समिति गठन माग गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले भनेको छ, ‘लाखौं नेपाली नागरिकले सहकारीमा जम्मा गरेको अरबौं वचत रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएको छ । नेपाली कांग्रेस संसदीय दलको यो बैठक सहकारीमा रकम जम्मा गरेका व्यक्तिहरूको वचतको सुरक्षाको ग्यारेण्टी गर्न, रकम हिनामिना भई मर्कामा परेका पीडितको रकम फिर्ता गर्न र सहकारीको रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी गर्नेहरूमाथि कारवाही गर्न अनिवार्य भएको ठहर गर्दछ ।’

‘सहकारीमा वचत गरेको रकम हिनामिना, दुरुपयोग र अपचलन गर्नेमा नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समेत संलग्न रहेका छन्’, कांग्रेसले भनेको छ, ‘यसबारेमा संसदीय छानविन समिति गठन गर्न नेपाली कांग्रेस लगायत अन्य विपक्षी दलले निरन्तर माग गरी रहेको सर्वविदितै छ ।’

‘नेपाली कांग्रेस संसदीय दलको यो बैठक तत्काल संसदीय छानविन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसले र अन्य विपक्षी दलहरुले निरन्तर उठाउँदै आएको विषयमा सरकार गैरजिम्मेवार भई समस्याको समाधान नगरेमा यसबाट संघीय संसदका वैठक प्रभावित हुने लगायत उत्पन्न हुने सबै परिणामका लागि सरकार नै जिम्मेवार हुने यो बैठक ठहर गर्दछ ।’

Published : Tuesday, 2024 May 14, 2:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया