कांग्रेसले नीति तथा कार्यक्रम पेस गर्न दिने, छलफल हुन नदिने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने निर्णय गरेको छ ।

मंगलबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसदमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न नदिने रणनीति कांग्रेसले अपनाएको छ ।

मंगलबार दिउँसो ३ बजे संघीय संसदको बैठक बस्न लागेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सहकारीको करोडौं रकम अपचलन तथा ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न कांग्रेसले संसदीय छानविन समितिको माग गरेको छ ।

कांग्रेसको मागलाई एमालेका अध्यक्ष केपी ओली र गृहमन्त्री लामिछानेले अस्वीकार गर्दै आएका छन् । ओली र लामिछानेको दवावमा परेर प्रधानमन्त्री दाहालले कुनै निर्णय गर्न सकेका छैनन् ।

मंगलबार बिहान कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गरेका छन् ।

कांग्रेसका नेताहरूसँग दाहालले संसदमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिन आग्रह गरेका छन् ।

Published : Tuesday, 2024 May 14, 10:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया