कांग्रेसको स्ट्रङ्ग संकेतपछि प्रचण्डद्वारा ओली-लामिछानेसँग कुराकानी, गम्भीर भएनन् उनीहरू

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अडानबाट निकै तनाबमा रहेका कम्युनिस्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी ओली र रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेसँग कुराकानी गरेका छन् ।

सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा दाहालले ओली र लामिछानेलाई बोलाएर कांग्रेसद्वारा सदन अबरोध भइरहेको विषयमा कुराकानी गरेका हुन् । कांग्रेसले मंगलबारको संसदको बैठक पनि अबरोध गर्ने संकेत गरेपछि दाहाल निकै तनाबमा छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै आएको छ । गृहमन्त्री लामिछाने सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएपछि कांग्रेसले संसदीय छानविन समितिको माग गरेर संसद अबरोध गरिरहेको छ ।

कांग्रेसको मागलाई एमालेका अध्यक्ष ओलीले जबरजस्त रुपमा विरोध गरिरहेका छन् । ओलीको समर्थन पाएपछि गृहमन्त्री लामिछाने पनि बलियो बनेका छन् । प्रधानमन्त्री दाहाल पनि ओलीको सामु निरिह बनेका छन् । मंगलबारको संसद बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

सोमबार बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकरी बैठकले नीति तथा कार्यक्रममा पनि अवरोध गर्ने संकेत गरेको छ । कांग्रेसको यो संकेतले प्रधानमन्त्री दाहालले ओली र लामिछानेसँग कुराकानी गरेर निकास खोज्ने प्रयास गरेका थिए । तर, ओली र लामिछानेले संसदीय छानविन समिति बनाउन रुचि नदेखाएपछि नेताहरू विनानिष्कर्ष बाहिरिएका छन् ।

प्रधानमन्त्रीले वैकल्पिक बाटोबाट समस्याको समाधान गर्ने विषयमा ओली र रविसँग छलफल गरेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।

आइतबार प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीचमा मध्यमार्गी बाटोबाट समस्या समाधान गर्ने विषयमा छलफल भएको थियो ।

दाहाल र ओलीसँगको भएको कुराकानीपछि सहकारी ठगका आरोपी गृहमन्त्री लामिछानेले संसदमा बोल्न पाउनुपर्ने माग राखेको बताएका छन् । लामिछानेले पत्रकारहरूसँग भने, ‘कम्तीमा एकपटक त मैले बोल्न पाउनुपर्छ । कांग्रेसले लगाएको संगीन आरोपबारे मैले जवाफ दिन पाउनुपर्छ । विकल्प त धेरै हुनसक्छन् ।’

Published : Monday, 2024 May 13, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया