दुई डीआइजीलाई एआइजी बढुवामा सिफारिस, यी डीआइजी र एआइजीहरू विदा हुँदै

काठमाडौं । नेपाल प्रहरीका दुई जना डीआइजीलाई एआइजी बढुवाको लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयले डीआइजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआइजी बढुवाको लागि सिफारिस गरेको हो । एक हप्तापछि उनीहरूको एआइजी पदमा बढुवा हुनेछ ।

यसै साता दुई एआइजी उमेर हदका कारण अवकाशमा जाँदैछन् । प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरसँगै २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका एआइजीद्वय सन्दीप भण्डारी र मीरा चौधरी अनिवार्य अवकाशमा जान लागेका हुन् । भण्डारीले बुधबार र चौधरीले शुक्रबार अवकाश पाउनेछन् ।

डीआइजी र एआइजीको हकमा उमेर हद ५६ वर्ष कायम गरिएको छ । ३० वर्षे सेवावधि अझै एक वर्ष रहँदा पनि उमेर हदका कारण भण्डारी र चौधरी अवकासमा जान लागेका छन् । भण्डारी र चौधरी अवकासमा जान लागेपछि रिक्त रहने पदमा डीआइजीद्वय जोशी र ढकाललाई एआइजीमा बढुवा गर्न लागिएको छ ।

एआइजीमा बढुवा हुन लागेका डीआइजीद्वय जोशी र ढकाल आइजीपी कुँवरकै ब्याचमेट अधिकृत हुन् । जोशी र ढकाल पनि यसै वर्ष उमेर हदका कारण अवकाशमा जाँदैछन् । जोशीले असार १९ र ढकालले असोजमा अवकाश पाउँदैछन् ।

आगामी शुक्रबार एआइजी चौधरीसँगै डीआइजी विकासराज खनाल पनि उमेर हदकै कारण अवकाश जानेछन् । जेठ १० गते डीआइजी सुरेन्द्र मैनाली अवकाशमा जानेछन् ।

असार २१ गते डीआइजी पोषराज पोखरेल र एआइजी श्यामलाल ज्ञवालीले भदौ तथा एआइजी किरण बज्राचार्यले कात्तिकमा अवकाश पाउनेछन् ।

पहिलो नम्बरका कुँवर आइजीपी भएका छन् । दोस्रो नम्बरमा रहेका टेकप्रसाद राई, चौथोमा रहेका दीपक थापा, पाँचौंमा रहेका श्यामलाल ज्ञवाली, छैटौंमा रहेकी किरण बज्राचार्य, सातौंमा रहेका सन्दीप भण्डारी, आठौंमा रहेका सुदीप गिरी, नवौंमा रहेकी मीरा चौधरी र १०औंमा रहेका टेकबहादुर तामाङ एआइजी छन् ।

दोस्रोमा रहेका अशोक सिंह भने जन्ममितिको विवादमा एआइजी बढुवा हुनुअगावै राजीनामा दिएर बाहिरिइसकेका थिए । अहिले बढुवा सिफारिस भएका जोशी ११औं र ढकाल १२औं नम्बरमा थिए ।

आइजीपी कुँवर नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवावधि नहटे आगामी चैतमा सेवावधिका कारण अवकाशमा जानेछन् । आइजीपी कुँवर ३० वर्षे सेवावधिकै कारण हट्ने अवस्था भए बहालवाला एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङलाई फाइदा हुनेछ ।

Published : Wednesday, 2024 April 17, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया