अबैध ढुङ्गासहित २० टिप्पर दोलालघाटमा प्रहरीद्वारा नियन्त्रण, छुटाउन गुण्डा नाइकेसहित माओवादीकाे शक्ति लाग्यो

बनेपा । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ढुङ्गा बोकेका २० वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोकबाट काभ्रेपलाञ्चोकतर्फ छिर्ने क्रममा बुधबार बिहान प्रहरीले दोलालघाटमा २० वटा टिप्परहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोककी प्रमुख (एसपी) बसन्सुधरा खड्काले बताइन् ।

उनले भनिन्, ‘२० वटा टिप्परहरूलाई नियन्त्रणमा लिएर त्यसको कागजपत्र चेकजाँच गर्न लागिएको छ । ढुङ्गा कसको हो ? कहाँ लैजान लागिएको हो ? सबै अनुसन्धानका क्रममा छ ।’

अनुमतिविना ढुङ्गा उत्खनन् गरेर निकासी गर्न पाइँदैन । उत्खनन् गरेर निकासी र पैठारीको कानून छैन ।

ढुङ्गा उत्खनन् गरेर निकासी र पैठारीको अधिकार सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङबोले अनुमति दिएको प्रहरी स्रोतले जनाएको छ । अध्यक्ष स्याङबोले काभ्रे प्रहरीले नियन्त्रणमा लिएका अबैध ढुङ्गासहितका २० वटा टिप्पर छुटाउन राजनीतिक शक्ति लगाएका छन् । अध्यक्ष स्याङबोले माओवादी केन्द्रका प्रतिनिधि सभाका सांसद माधव सापकोटामार्फत एसपी खड्कालाई टिप्पर छुटाउन दवाव दिएरहेको स्रोतले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष स्याङबोले काभ्रे प्रहरीलाई फोन गरेर संघीयताले दिएको अधिकारमा हनन् गरेको भनेर धम्की समेत दिएको बुझिएको छ । माओवादीका नेताहरूले अबैध ढुङ्गासहित प्रहरी नियन्त्रणमा रहेका टिप्परहरूलाई छाड्न प्रहरीलाई निकै ठूलो दवाव दिइरहेका छन् ।

अबैध ढुङ्गा उत्खनन् गरेर पैठारी र निकासी गर्ने कार्यमा ‘गुण्डा नाइके’ समेत रहेका नेपाली कांग्रेस जुगल गाउँपालिकाका ईकाइ सभापति सगुन श्रेष्ठको पनि संलग्नता रहेको स्रोतले जनाएको छ ।

माओवादीबाट जुगल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका स्याङबो र कांग्रेसका ईकाइ सभापति श्रेष्ठबीच अबैध उत्खनन् र निकासी तथा पैठारीमा एक भएका छन् । श्रेष्ठ विगतमा गुण्डा नाइकेको आरोप खेपेका व्यक्ति हुन् । उनी पक्राउ पर्नेदेखि अबैध गतिविधिमा संलग्न रहेको भनेर प्रहरीले उच्च निगरानीमा राखेको थियो । बिगतको अपराध लुकाउन उनले नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका छन् । कांग्रेसका महामन्त्री गगनकुमार थापा निकट मानिने श्रेष्ठलाई राजनीतिक संरक्षण छ ।

गृहमन्त्री रवि लामिछाने छन् । लामिछानेले अबैध गतिविधिहरू नियन्त्रण गर्ने प्रयास गरिरहेका बेला काभ्रे प्रहरीले ठूलो संख्यामा अबैध ढुङ्गासहितका टिप्परहरू नियन्त्रणमा लिएको छ ।

टिप्पर र अबैध ढुङ्गा प्रहरीले नियन्त्रणमा लिएको विषयमा अध्यक्ष स्याङबो र सभापति श्रेष्ठसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

Published : Wednesday, 2024 April 17, 9:35 am

1 प्रतिकृया प्राप्त “अबैध ढुङ्गासहित २० टिप्पर दोलालघाटमा प्रहरीद्वारा नियन्त्रण, छुटाउन गुण्डा नाइकेसहित माओवादीकाे शक्ति लाग्यो”

Comments are closed.

फेसबुकबाट तपाईको प्रतिक्रिया