लामिछाने इलाम हिँडेको मौका छाेपेर एसपी र सांसदको संरक्षणमा अबैध उत्खनन, प्रचण्डको शक्तिमा २० टिप्परहरू छुटाउने ध्वाँस

बनेपा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख (एसपी) सन्तोष खड्का, माओवादी केन्द्रका सांसद माधव सापकोटासहितका समूहको संरक्षणमा एमाले, माओवादी र कांग्रेससहितको गिरोहले अबैध ढुङ्गा (सिलेट) उत्खनन् गरेको रहस्य बाहिरिएको छ ।

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाका भतिजा पर्ने माधव सापकोटाले नेपाली कांग्रेस जुगल गाउँपालिकाका सभापति सगुन श्रेष्ठसहितका गिरोहलाई संरक्षण गरेर अबैध उत्खनन् गरेको आरोप छ ।

दुई दिन अगाडि काभ्रे प्रहरीले दोलालघाटमा अबैध ढुङ्गा बोकेका २० वटा टिप्परहरूलाई पक्राउ गरेपछि सिन्धुपाल्चोकमा ढुङ्गा (सिलेट)को अबैध उत्खनन् गरेर निकासी र पैठारी भइरहेको रहस्य बाहिरिएको थियो । जिल्ला प्रहरी काभ्रेकी प्रहरी प्रमुख (एसपी) बसुन्धरा खड्काले सिन्धुपाल्चोकबाट ढुङ्गा बोकेर काभ्रे छिरेका २० वटा टिप्परहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेकी थिइन् । शुक्रबार प्रतिक्रिया दिँदै एसपी खड्काले भनिन्, ‘ढुङ्गासहित नियन्त्रणमा लिइएका २० वटा टिप्परहरूका बारेमा अनुसन्धान भइरहेको छ । कानून बमाजिम कारबाही हुन्छ ।’

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका माओवादीकाबाट निर्वाचित अध्यक्ष रेशम स्याङबोले सेटिङमा कानूनको छिद्रबाट छिरेर सगुन श्रेष्ठसहितको गिरोहलाई अबैध उत्खनन गर्न अनुमति दिएका छन् । गाउँपालिकाका अध्यक्ष स्याङबोसहितका समूहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत ढुङ्गा खानी उत्खनन, निकासी र पैठारी गरेको कसूरमा उजुरी परेको छ ।

ढुङ्गा (सिलेट) उत्खनन् गरेर निकास र पैठारीका लागि लगानी गर्नेहरूको लामो सूची छ । यो सूचीमा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका स्थानीय नेताहरूले मोटो रकम लगानी गरेका छन् ।

ढुङ्गाको अबैध उत्खनन गरेर निवासी र पैठारीका लागि माओवादी केन्द्रका नेता आकाश तामाङले करीव २ करोड ५० लाख लगानी गरेका छन् । आकाश तामाङ जुगल गाउँपालिका– ३ मा माओवादीबाट वडाध्यक्षका प्रत्यासी थिए ।

जुगल गाउँपालिका– ४ का माओवादीका स्थानीय नेता काजी सिलवालले करीव १ करोड २५ लाख लगानी गरेका छन् ।

जुगल गाउँपालिका वडा नं. ४ का माओवादी नेता राजेन्द्र सिलवालले करीव ८० लाख लगानी गरेका छन् ।

जुगल गाउँपालिका वडा नं. ६ का माओवादी नेता नेता सुशील तामाङले करीव ७५ लाख लगानी गरेका छन् ।

जुगल गाउँपालिका वडा नं. १ का एमालेका स्थानीय नेता मधु थापाले करीव ३ करोड लगानी गरेका छन् । उनी सोही वडाका पूर्ववडाध्यक्ष हुन् ।

नेपाली कांग्रेस जुगल गाउँपालिकाका इकाइ सभापति सुगन श्रेष्ठले करीव १ करोड ५० लाख लगानी गरेका छन् ।

ढुङ्गा उत्खनन गर्नका लागि उनीहरूले करीव ७ करोडमा ठेक्का पाएका छन् । सो स्थानमा करीव ९ करोडको ढुङ्गा (सिलेट) रहेको अनुमान स्थानीयको छ ।

यो गिरोहसँग ढुङ्गा उत्खनन् गरेर निवासी र पैठारी गर्ने लाइसेन्स छैन । उनीहरूले अन्य व्यक्तिको लाइसेन्स लिएर अबैध उत्खनन गरेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोक क्षेत्र नं. १ मा प्रतिनिधि सभामा माओवादी केन्द्रबाट निर्वाचित माधव सापकोटाले १ हप्ताभित्र काभ्रे प्रहरीले अबैध ढुङ्गासहित नियन्त्रणमा लिएका २० वटा टिप्परहरू छुटाइदिने भनेर बाचा गरेका छन् ।

सापकोटाले विभिन्न तहमा ठूलो दवाव दिइरहेका छन् । सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मार्फत गृहमन्त्री रवि लामिछानेलाई दवाव दिएर अबैध उत्खननका ढुङ्गासहित काभ्रे प्रहरीको नियन्त्रणमा रहेका २० वटा टिप्परहरू छुटाउने भनेर धम्की दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ढुङ्गासहित २० वटा टिप्परलाई अबैध ठानेर नियन्त्रणमा लियो । त्यही ढुङ्गा उत्खनन गर्न दिने, निकासी र पैठारीमा सहयोग गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको प्रहरी प्रमुख एसपी खड्कालाई अनुसन्धानको दायरामा लिएर कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

सिन्धुपाल्चोक प्रहरीका प्रमुख (एसपी) खड्काले ढुङ्गाको अबैध उत्खनन, निवासी र पैठारीका विषयमा गोलमटोल प्रतिक्रिया दिएका छन् । एसपी खड्काले भने, ‘ढुङ्गा खानी हेर्न काम प्रहरीको होइन । खानी विभागलाई सोध्नुस् ।’ यद्यपि, एसपी खड्काले आफ्नो जिम्मेवारी र प्राकृतिक स्रोत साधन अबैध रुपमा दोहन भएको कार्य रोक्ने प्रहरीको अधिकार हो वा होइन स्पष्ट जवाफ दिएनन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले ढुङ्गा उत्खननका विषयमा आफूले खानी विभागसँग सम्पर्क गरेर रोक्न लगाएको बताए । उनले ढुङ्गा खानी उत्खनन, निकासी र पैठारीका विषयमा संघीय, प्रदेश र स्थानीय सरकारबीच क्षेत्राधिकारलाई लिएर कानून बाझिएको बताए । उनले ढुङ्गा उत्खनन भइरहेको स्थानमा हाइड्रो पावर रहेको र त्यो हाइड्रोलाई समेत प्रभावित बनाएको बताएका छन् ।

गृहमन्त्री रवि लामिछाने उपनिर्वाचनको प्रचार प्रसार तथा सहकारी ठगी काण्डमा विवादमा परिरहेका बेलाको मौका छापेर सिन्धुपाल्चोकका एसपी खड्काले ढुङ्गाको अबैध उत्खनन र तस्करीमा सहयोग गरेको आरोप छ । अबैध उत्खननमा तस्करीको गिरोहलाई सहयोग गरेर विवादमा परेपछि तनाबमा परेका एसपी खड्का नेताहरूसँग कुरा मिलाउन शुक्रबार दिनभरि काठमाडौंमा घुरेर सिन्धुपाल्चोक फर्किएका छन् । गृहमन्त्री लामिछानेले ढुङ्गाको अबैध उत्खननमा सहयोग गर्ने एसपीलाई के गर्छन् हेर्न बाँकी छ ।

अबैध ढुङ्गासहित २० टिप्पर दोलालघाटमा प्रहरीद्वारा नियन्त्रण, छुटाउन गुण्डा नाइकेसहित माओवादीकाे शक्ति लाग्यो

Published : Friday, 2024 April 19, 10:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया