रवि लामिछानेकी पत्नी निकिताले दिइन् कान्तिपुर, नागरिक, अनलाइन खबरसहित २९ विरुद्ध मुद्दा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले कान्तिपुर, नागरिक, अनलाइन खबर, उकेरा, जनआस्था लगायतका सञ्चारमाध्यम, सञ्चालक, सम्पादक, सम्वाददाता समेत २९ जनालाई प्रतिवादी बनाएर मानहानीको मुद्दा दायर गरेकी छिन् ।

सहकारी ठगी प्रकरणमा नाम जोडेर समाचार आएपछि रिसाएकी निकिताले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मानहानीको मुद्दा दिएकी हुन् । उनले प्रेस काउन्सिल नेपालमा पनि निवेदन दिएकी छिन् ।

निकिताले सहकारीमा नाम जोडेर समाचार लेखेको भन्दै मिडिया, सञ्चालक र सम्पादकविरुद्ध लिखित गाली बेइज्जती मुद्दा दायर गरेकी हुन् ।

पत्रकार तथा सञ्चालकहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा उनले आफ्ना लागि पाँच करोड क्षतिपूर्ति दाबी गरेको बताइएको छ ।

निकिताले आफू आजीवन दुःख गरेर कमाएको प्रतिष्ठामा आफ्नो प्रतिक्रियासमेत नलिएर ठाडै चरित्र हत्या गरिएको बताएकी छिन् ।

फेसबुकमा उनले भनेकी छिन्, ‘कहिले कसैलाई ठगेर लुटेर खानु परेन। म एक संचारक्षेत्रको तथा उद्यमी महिला भएकाले बैंक वित्तीय संस्थाहरूसँग ऋण धन हुन्छ, लिनु पनि हुन्छ, दिनु पनि हुन्छ ।’

‘म कसैको छोरी श्रीमतीभन्दा पहिले एक उद्यमशील स्वाबलम्बी नारी हुँ । यो परिचय मैले जीवनभर मेहनत गरेर आफैले आर्जन गरेकी हुँ र म बाचुन्जेल कसैलाई पनि मेरो यो परिचयमा हिलो छ्याप्न दिन्न ।’

‘मैले तिरी सकेको ऋणलाई लिएर मलाई ठग करार गर्ने गरि फोटो छापेर हेडलाईन बनाउने शिक्षा पत्रकारिताको कुन किताबको कुन पृष्ठमा छ ?’, उनले भनेकी छिन् ।

‘नेपाली मिडियाको यस्तो दुर्दशापूर्ण अवस्था आउनुको दोषी स्वयं मिडिया संचालकहरू नै हुन् भन्ने कुरामा मलाई अब शंका छैन’, उनले भनेकी छिन् ।

निकिताले भनेकी छिन्, ‘मैले यत्रो संघर्ष गरि आर्जन गरेको प्रतिष्ठामा सजिलै फोटो टासेर ठग करार गर्न खोजेको म कसरी स्वीकार गरौँ ? म मान्छे हुँ, महिला हुँ, म छोरी हुँ, आमा हुँ, दिदी हुँ, बहिनी हुँ, श्रीमती हुँ ।’

‘एउटी महिला उद्यमीलाई सारा पुरुष मिडिया उद्यमी मिलेर, तिरी सकेको ऋणबारे भ्रम छर्दै मेरो फोटो छापेर, मेरो हजुरबुवाको नाम समेत गलत लेखिएको कैफियत देखिएको कागजात छापेर, सबका सब मिलेर एउटै हेडलाईन राखेर चरित्र हत्या गरेको सहेर बस्नु मेरो आत्मसम्मानले कदापि दिदैन’, उनले भनेकी छिन् ।

‘म न्याय माग्न, प्रेस काउन्सिल र अदालत गएकि छु । मलाई यो पनि भनिएको छ यति ठूला मिडियाका विरुद्ध मुद्दा हाल्न आटै गरिदैन, मुद्दा परे पनि फैसला छिटो गर्ने आटै गरिदैन, फैसला भैहाले पनि उसका बिरुद्धमा फैसला आउन गाह्रो हुन्छ, फैसला आए पनि क्षतिपूर्ति एकदमै कम पाइन्छ । थप मलाई यो पनि भनिएको छ कि मिडियालाई मुद्दा हाल्दा तिम्रो श्रीमानको राजनीतिलाई नै ठूलो धक्का दिइनेछ, तिमीहरूलाई झन गाह्रो बनाइनेछ ।’

‘उल्टै घाटा नै घाटा हुन्छ । म भन्न चाहन्छु, सर्वस्व सकिए पनि म न्याय मागेरै छोड्छु’, निकिताले भनेकी छिन्, ‘मलाई मेरो देशको न्यायालय र न्यायमूर्तिप्रति भगवान जत्तिकै विश्वास छ । मैले आजिवन दुःख गरेर कमाएको प्रतिष्ठामा मेरो प्रतिक्रिया समेत नसोधी ठाडै चरित्र हत्या गर्ने लाइसेन्स उनीहरूलाई कसले दियो ?’

Published : Friday, 2024 April 5, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया