प्रधानमन्त्री फुत्त फुत्त उफ्रने प्रबृत्तिले सबैलाई डुबाउँछ : मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार गठन भएकै दिनदेखि सरकारका दिनगन्ती सुरु हुनु संघीयता कार्यान्वयनका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

बिहीबार लुम्बिनी प्रदेश सभाको बैठकमा राजीनामा प्रस्तुत गर्दै चौधरीले दलहरूलाई सही गन्तब्यमा नपु¥याउने बताए । चौधरीले राजनीतिक फेरबदलकै कारण राजीनामाको निर्णय लिएको बताएका छन् । उनले संघीय संरचना अनुसार प्रदेश सरकार फेरबदल हुने प्रबृत्तीप्रति चिन्ता व्यक्त गरेका छन् ।

‘हरेक नयाँ सरकार बन्दाको दिनदेखि नै त्यो सरकारको दिनगन्ती सुरु हुने गरेको छ, अहिलेको अवस्था पनि मैले त्यस्तै देख्दै छु’, उनले भने, ‘यस्तो प्रवृत्तिविरुद्ध हामी गम्भीर बन्नु जरुरी छ, यो संघीयता कार्यान्वयनमै चिन्ताको विषय हो ।’

उनले प्रदेश आफैमा सबल र स्रोत सम्पन्न नभएसम्म संघीयता दीगो र प्रभावकारी हुन नसक्ने बताएका छन् । प्रदेशको औचित्य पुष्टि गर्न स्रोत र साधनमै पहुँच हुनु जरुरी रहेको उनले बताएका छन् ।

‘प्रदेशमा हामी आफैले कुनै पनि स्रोतको पहिचान र विकास गर्न सकेका छैनौं, मात्र मन्त्री र मुख्यमन्त्री बन्ने होडमा रमाईरहेका छौं’, उनले भने, ‘मुख्यमन्त्रीको फोटो झुण्डाएर हामी रमाए पनि जनतामा चरम निराशा बढेको छ । त्यसको सम्बोधन हामीले गर्न सकेका छैनौं ।’

उनले प्रदेश सरकारको स्थायीत्वको जरुरी रहेको बताए । ‘स्थायीत्व भएन भने कुनै पनि विकास र सम्बृद्धि अघि बढ्न सक्दैन्’, उनले भने, ‘हामी जनताकोमा ठाडो शिर लिएर जाने गरी काम गर्न सकेनौं भने औचित्य पुष्टि हुनै सक्दैन् ।’

‘प्रधानमन्त्री फुत्त फुत्त उफ्रने प्रबृत्तिले संघीयता धरापमा पर्न सक्छ’, चौधरीले भने, ‘प्रधानमन्त्री ज्यू, तपाई फुत्त फुत्त उफ्रने र यताको उता कुर्ची सार्नुभन्दा पहिला टेक्ने स्थान कहाँ हो त्यो निधो गर्नुस् । फुत्त फुत्तले कही हामी सबैलाई डुबाउने हो कि भन्ने चिन्ता लाग्न थालेको छ ।’

मुख्यमन्त्री चौधरीले आफ्नो ११ महिने कार्यकालमा गरेका विकासका काम र सुरु गरेका प्रयासहरूको गरेको बताएका छन् । उनले सरकारले आवधिक योजना तयार गरेको, लगानी भित्र्याउनका लागि लोरियट्स एण्ड लिडर्स शिखर सम्मेलन आयोजना गरेको, २ लाख युवालाई रोजगारी दिने गरी कार्यक्रम तयार गरेको बताएका छन् ।

शिखर सम्मेलन राजनीतिक उथलपुथलकै कारण पूरा हुन नसकेको र २ लाखलाई रोजगारी दिने कार्यक्रम पनि अलपत्र परेको बताएका बताएका छन् ।

हरेक पटक मुख्यमन्त्रीको फोटो मात्र झुण्ड्याउने गरी मुख्यमन्त्री नबन्न आग्रह गर्दै उनले संघीयता बताउने गरी काम गर्न आउने मुख्यमन्त्रीलाई सुझाव दिए । ‘यस अघि मुख्यमन्त्रीमा मेरो फोटो झुण्डियो, अब तेस्रो मुख्यमन्त्रीको फोटो झुण्डिन्छ’, उनले भने, ‘संघीयता बच्छ कि बच्दैन भन्ने प्रश्न प्रमुख हुन थालेको छ, अब बन्ने मुख्यमन्त्रीले संघीयता बचाउने गरी काम गर्नुस्, मेरो शुभकामना छ ।’

बहुमत जुटाएर विश्वासको मत लिने प्रयास गरेका चौधरीले बहुमत नजुट्ने देखिएपछि अन्तिम समयमा प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै राजीनामामा दिएका छन् ।

Published : Thursday, 2024 April 4, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया