अर्थमन्त्री हराएपछि कांग्रेसका सांसद खतिवडा र ईन्दिरा रानाबीच घोंचपेच

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा अर्थमन्त्री वर्षमान पुनको खोजी गरेपछि उप–सभामुख ईन्दिरा रानासँग व्याङ्गात्मक सवाल जवाफ भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थ विधेयकको विनियोजन सिद्धान्त र प्राथमिकताहरूका विषयमा छलफल भइरहेको थियो । सोही क्रममा अर्थमन्त्री संसदको बैठक छाडेर बाहिर गएका थिए ।

मन्त्री नरहेका बेला संसद स्थगित गरेर पुन: सञ्चालन हुने गरेको परम्परा रहेको खतिवडाले बताए । समय मिलाउने काम सचिवालयको रहेको भन्दै खतिवडाले प्रतिनिधि सभामा मन्त्री चाहियो भनेका थिए ।

सभामुखको कुर्सीमा बसेकी उपसभामुख रानाले सांसद खतिवडालाई बोल्न शुरु गर्दै गर्नुस्, आउँदै हुनुहुन्छ, बाटोमा हुनुहुन्छ भनेकी थिइन् ।

जवाफमा सांसद खतिवडाले ठीक छ म पनि बाटोसम्म पर्खिन्छु भनेका थिए । त्यसपछि उप–सभामुख रानाले हुन्छ पर्खिनु हुन्छ भने, खाजाको पनि व्यवस्था गर्नुपर्छ भनेकी थिइन् ।

लगत्तै सांसद खतिवडाले भने, ‘सभामुख अलिकता भोकाए जस्तो लाग्यो । त्यसको व्यवस्था गर्न हामी पनि तयार छौँ । बरु संसद कोषबाट निर्माण गर्नुपर्छ भने पनि तयार छौँ सभामुख महोदय ।’

उपसभामुख रानाले फेरि भनिन्, ‘शुरु गर्दै गरौँ माननीय सदस्य । आइसक्नुभयो ।’ त्यसपछि कांग्रेसका सांसद खतिवडाले बोल्न शुरु गरेका छन् ।

यसअघि, राप्रपाकी सांसद बिना लामाले पनि अर्थमन्त्रीको खोजी गरेकी थिइन् । उनले भनिन्, ‘अर्थमन्त्री देखिन । अर्थमन्त्री नहुँदा कसलाई सुनाउने ? अर्थमन्त्रीलाई बोलाउन पाइयो भने हुने ।’

उपसभामुखले भनिन्, ‘अर्थमन्त्रीले अर्को प्रतिनिधिलाई राखेर खाना खान जानुभएको छ ।’ सांसद लामाले विभेद भयो भन्दै अर्थमन्त्री चाहियो भनेर अडान राखेकी थिइन् ।

यसअघि, उपसभामुख रानाले दश मिनट छ, अर्थमन्त्री आएपछि समय थपिदिन्छु भनेकी थिइन् । त्यसपछि अर्थमन्त्री आएपछि सांसद लामाले बोल्न शुरु गरेकी थिइन् ।

Published : Wednesday, 2024 March 20, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया