ओली आफै मुठभेडमा उत्रिए, कांग्रेसविरुद्ध देखाए हर्कत

काठमाडौं । सहकारीको करोडौं रकम ठगीका आरोपी गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानविन समितिको माग गरेर नेपाली कांग्रेसले वेल घेराउ गरिरहेका समयमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले अभद्र व्यवहार गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकलाई सभामुख देवराज घिमिरेले जबरजस्ती चलाउन खोजेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले वेल अगाडि पुगेर नारावाजी गरेका हुन् ।

एमाले र रास्वपाका सांसदहरुले कांग्रेसको विरोध गर्दै उभिएर मुठभेड स्थिति सिर्जना गरेका छन् । सभामुख देवराज घिमिरेले एमालेका अध्यक्ष केपी ओलीको निर्देशनअनुसार संसदको बैठक चलाएको भन्दै कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले बताएका छन् । थापाले सभामुखलाई एमालेले प्रयोग गरेको बताए ।

कांग्रेसको घेराउ गरिरहेका बेला सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएका थिए । त्यसपछि कांग्रेसका सांसदहरुले नारावाजी र घेराउ गरिरहेका बेला एमाले संसदीय दलका नेता समेत रहेका अध्यक्ष केपी ओलीले कांग्रेसका सांसद समेत रहेका उपसभापति धनराज गुरुङलाई अपमान गरेका छन् ।

वेलको अगाडि कांग्रेसका सांसदहरुले नारावाजी गरिरहेका बेला एमालेका अध्यक्ष ओलीले सांसद गुरुङलाई धकेलेका थिए । त्यसपछि सांसद गुरुङले प्रतिवाद गरेका थिए ।

ओलीले कांग्रेसका सांसदलाई अभद्र व्यवहार गर्दै उभिएपछि एमालेका सांसद र रास्वपाका सांसदहरु ओलीसँगै उभिएर मुठभेडमा उत्रिएका छन् ।

कांग्रेसका सांसद रामहरि खतिवडाले एमालेले मुठभेड गर्न थालेको बताए । उनले एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसका सांसदहरुमाथि अभद्र व्यवहार गर्दै संसदीय मर्यादा विपरितको रहेको बताए ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसका सांसद धनराज गुरुङले आफ्नो दलको नेता केपी ओलीलाई अभद्र व्यवहार गरेको बताए । उनले कांग्रेसले संसदलाई बन्धक बनाएको आरोप लगाए ।

रास्वपाका सांसद मनीष झाले कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिएर बन्धक बनाएको बताए । उनले कांग्रेसले केपी ओलीलाई अभद्र व्यवहार भएपछि आफूहरु पनि उभिएर समर्थन गरेको बताए ।

Published : Thursday, 2024 May 16, 7:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया