जग्गा घोटाला गर्ने केपी ओलीलाई सभापति देउवाले दिए जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टि–इस्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले एमाले अध्यक्ष केपी ओलीले जग्गा बिक्रीको निर्णय गरेर कांग्रेसलाई मुछेको बताए ।

सभापति देउवाले भनेका छन्, ‘ओलीजी आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालामा भयो, के भयो भनिदिए भइहाल्यो नी । आफूले गरेको कुरा, गरेको हो भन्न के आपत्ति छ ?’

‘अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ । कांग्रेसको पालामा गिरिजाबाबु र म हो, हाम्रो पालामा भएकै छैन’, सभापति देउवाले भने ।

पूर्वप्रधानमन्त्री समेत रहेका सभपाति देउवाले केपी ओली जस्तो नेताले नभएको आरोप लगाउन नहुनेसमेत बताएका छन् ।

बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले जग्गा बिक्री गर्ने निर्णय कांग्रेसको पालामा भएको आरोप लगाएका थिए ।

Published : Thursday, 2024 May 16, 2:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया