पासपोर्ट, नागरिकता र सहकारी ठगीबारे ९ मिनट १८ सेकेण्डको पाठ सिक्न कांग्रेस आतुर छ : जीतजंग बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य जीतजंग बस्नेतले रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने र सांसद स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै ९ मिनट १८ सेकेण्डको पाठ सिक्नु आतुर रहेको बताएका छन् ।

बुधबार राष्ट्रिय सभामा विशेष समय लिएर बोल्दै सांसद बस्नेतले राजनीतिमा नैतिकता, चरित्र र इमान्दारिता आवश्यक पर्ने बताए । उनले रवि लामिछानेले कांग्रेसलाई दुई वटा पासपोर्ट र नागरिकता दुरुपयोग गर्ने पाठ सिकाउने हो ? भनेर प्रश्न गरेका छन् ।

उनले भने, ‘गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले नेपाली कांग्रेसलाई ९ मिनट १८ मिनटमा पाठ सिकाउँछु भन्नुभएको छ । म पाठ सुन्न बसेको छु ।’

‘के पाठ सिकाउनु हुन्छ ? उहाँले दुइटा नागरिकताको पाठ सिकाउनु हुन्छ मलाई ? दुइटा पासपोर्टको पाठ सिकाउनु हुन्छ ? दुइटा पासपोर्ट अपचलन गर्ने पाठ सिकाउनु हुन्छ ?’, सांसद बस्नेतले प्रश्न गर्दै बस्नेतले भने ।

‘सहकारी ठगी गर्ने पाठ मलाई सिकाउनु हुन्छ ? अथवा आफ्नो गैह्रजिम्मेवारीपनले पत्रकार मर्दाखेरी आवाज उठाउन नसक्ने पाठ सिकाउनु हुन्छ कि ? उहाँ जुनमा काम गर्दै हुनुहुन्छ त्यहिँ ठगी गर्ने पाठ सिकाउनु हुन्छ ? के पाठ सिकाउनु हुन्छ ? म सिक्न तयार छु’, उनले भने ।

‘नेपाली कांग्रेस ९ मिटन होइन आधा घण्टा पाठ सिक्न तयार छ’, कांग्रेसका सांसद बस्नेतले भने ।

‘पहिलो कुरा नैतिकता, चरित्र सबैभन्दा ठूलो कुरा हो राजनीतिमा । इमान्दारी, नैतिकता, चरित्र भएन भने राजनीति गर्नु बेकार छ’, उनले भनेका छन् ।

सहकारी ठगी प्रकरणमा कांग्रेसले संसदीय छानविन समिति र राजीनामा माग गरेपछि गृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछानेले केही दिन अगाडि कांग्रेसलाई ९ मिनछ १८ सेकेण्ड पाठ सिकाउन मन छ भनेर अभिव्यक्ति दिएका थिए ।

लामिछानेको अहँकार र घमण्डलाई बल पुर्‍याउने गरेर रास्वपाका सांसद स्वर्णिम वाग्लेले पनि कांग्रेसलाई ९ मिनट १८ सेकेण्ड पाठ पढाउनुपर्ने बताएका थिए ।

Published : Wednesday, 2024 March 20, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया