भ्यूटावर, कन्फ्रेन्स हल, भवनहरूमा लगानी हुँदा राजस्व घट्यो, प्रोडक्टिभ क्षेत्रमा लगानी गरौँ : कांग्रेस सांसद राणा

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले गलत ठाउँमा लगानी गरेका कारण राजस्व संकलन कम भएको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै सांसद राणाले ०७४ सालपछि राजस्व निकै घटेर गएको बताए ।

उनले भने, ‘अहिले हाम्रो राजस्व उठिरहेको छैन । पहिला सजिलै राजस्वको टार्गेट मिट हुन्थ्यो । ०७४ सालपछि लगभग ९ खर्ब ऋण अहिले गएर २४ खर्ब हुन पुगेको छ । ऋण बढेको छ । आम्दानी बढेको छैन । राजस्व नबढेको कारण अनप्रोडक्टिभ ठाउँमा लगानी भएको छ ।’

कांग्रेसका सांसद राणाले भने, ‘भ्यूटावरमा लगानी भएको छ । भवनमा लगानी भएको छ । कन्फ्रेन्स हलमा लगानी भएको छ । वितरणमुखी कार्यक्रममा लगानी भएको छ । हाम्रो पैसा प्रोडक्टिभतिर लगानी गर्नुपर्छ ।’

सांसद राणाले भने, ‘अर्थतन्त्रलाई चलायमान गराउने एउटा परिस्थिति विशेष गरेर सहकारी, लघुवित्तहरू क्रियाशील भएको यो दश पन्ध्र वषदेखि यसले अत्यन्तै ठूलो सहयोग हाम्रो अर्थतन्त्रलाई गरेको छ ।’

‘आजको दिनमा हाम्रो ३० हजारभन्दा बढि सहकारीहरू छन् । २५ देखि ३० लाखसम्म सहकारी सदस्यहरू छन् । उनीहरू सबै अहिले समस्यामा छन्’, उनले भने ।

‘सानो सानो पुँजी उनीहरूले खर्च गर्थे, त्यो उनीहरूले खर्च गर्न नसकेको कारणले पनि हाम्रो अर्थतन्त्र चलायमान हुन सकेको छैन’, सांसद राणाले भने, ‘अर्थतन्त्रमाथि, अहिले सहकारीको सिष्टममाथि जनताको भर उडेको छ ।’

‘विशेष गरेर उहाँहरूको भनाइ के छभने ठूलो मान्छेहरूले जे गरे पनि हुने । साना मान्छे पीडामा पर्ने । सहकारीमा के भयो भनेर निष्पक्ष छानविन नगरेर यो अर्थतन्त्र चलायमान हुन अफ्ठ्यारो हुन्छ’, सांसद राणाले भने ।

‘अहिले मैले सहकारीको कुरा गरेको धेरै नेपाली नागरिकहरूले पीडा पाएका छन् । पीडितहरूको मात्रै कुरा गरेको होइन । यसले हाम्रो अर्थतन्त्रमा पनि समस्या ल्याएको छ’, उनले भने ।

‘यसमा छिटोभन्दा छिटो निष्पक्ष छानविन गर्नु जरुरी छ । अहिले झाँक्री पनि त्यही, बोक्सी पनि त्यहि । आरोपित व्यक्ति पनि त्यहि । छानविन गर्ने गृहमन्त्री पनि त्यहि’, सांसद राणाले भने ।

‘त्यहि कारण संसदबाटै छानविन गर्न जरुरी छ । वित्तीय नीतिभन्दा पनि मौद्रिक नीतिले वित्तीय नीतिलाई डोमिनेट गरेको छ । त्यो गर्न मिल्दैन । वित्तीय नीतिलाई बजेटमा बलियो बनोस्’, सांसद राणाले भने ।

‘सहकारी र लघुवित्तहरूलाई रेगुलेट गर्ने रेगुलेट्री बडी पनि चाहियो । राष्ट्र बैंकमुनि त्यो बडी बनाउन जरुरी पनि छ’, कांग्रेसका सांसद राणाले भने ।

Published : Wednesday, 2024 March 20, 1:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया