कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने, देउवाले बोलाए कार्यसम्पादनको बैठक, झण्डा लुकाइयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाए पनि नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने भएका छन् ।

सोमबार बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।

सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहालले गठबन्धन तोडेको ब्रिफिङ गरेका छन् । प्रमुख सचेतक लेखकले प्रधानमन्त्री दाहालले गठबन्धन तोडेकाले कांग्रेसका मन्त्रीले आफैँ राजीनामा नदिने बताएका हुन् ।

नेता लेखकले भने, ‘गठबन्धन प्रधानमन्त्रीले तोड्ने, अनि हामीले किन राजीनामा दिने ? जे जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ ।’ कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले मंसिर ४ को जनताको म्यान्डेट अनुसार आफूहरु सरकारमा गएकाले राजीनामा गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । उनले भने, ‘भोलिसम्म पर्खने हो केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि छ ।’

यसैबीच, कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । मंगलबार (भोलि) दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठ बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पछिल्लो विकसित घटनाक्रम बारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको पौडेलले बताएका छन् ।

कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भएपनि देउवाले ३७ जनाको बनाएका छन् । कांग्रेसका सभापति देउवाले बोलाएको बैठकमा कांग्रेसका दुई मन्त्री निजी गाडीमा बूढानीलकण्ठ पुगेका छन् ।

उपसभापति एवम् रक्षामन्त्री उपसभापति पूर्णबहादुर खड्का र अर्थमन्त्री डा. प्रकाशशरण महत निजी गाडीमा देउवा निवास पुगेका हुन् ।

उपसभापति एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ भने मन्त्रीको गाडीमा बैठकमा पुगेका थिए । बैठकको बीचमा निस्किएका गुरुङले झण्डा छोपेर देउवा निवासबाट बाहिरिएका छन् ।

कांग्रेससँगको गठबन्धन तोडिएपछि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका थिए । बिहान १० बजेका लागि बोलाइएको थियो ।

Published : Monday, 2024 March 4, 1:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया