न्यूरोडमा टोले गुण्डा ‘बब’द्वारा आत्मसमर्पण, अरु ५ जना खोरभित्रै

काठमाडौं । काठमाडौं प्रहरीसमक्ष टोले गुण्डा बब शर्मा भनिने विजयन्तप्रताप शर्माले आत्मसमर्पण गरेका छन् ।

केही दिन अगाडि काठमाडौंमा शर्माले प्रदीप केसी र अर्का एकजनालाई चक्कु प्रहार गरेर फरार भएका थिए । न्यूरोडस्थित प्रहरी वृत्त जनसेवामा शर्माले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

शर्माले न्यूरोडको आसपासमा २ युवकमाथि चक्कु प्रहार गरी फरार भएका थिए । प्रहरीले उनको खोजतलास गरिरहेका बेला आत्मसमर्पण गरेका छन् ।

शर्माले माघ २१ गते जनसेवा प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रहरी वृत्त जनसेवाका प्रमुख (डीएसपी) भेषराज रिजालले बताएका छन् ।
चक्कु प्रहारको घटनमा अनुसन्धान गर्ने क्रममा अहिलेसम्म ५ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

टोले गुण्डा शर्मासँगै पक्राउ पर्नेहरूमा रन्जन कुमार, सुवास श्रेष्ठ, प्रवीना खत्री, समुन महर्जन रहेका छन् ।

पक्राउ परेका सबै जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको डीएसपी रिजालले बताएका छन् ।

Published : Wednesday, 2024 February 7, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया