नवलपरासीमा व्यापारीमाथि गोली प्रहार

बुटवल । नवलपरासी जिल्लामा गोली प्रहारबाट सुनचाँदी पसलका संचालक घाइते भएका छन् ।

अपरिचित व्यक्तिहरूको गोली प्रहारबाट सुस्ता गाउँपालिका–१ वरुवास्थित न्यू धौलागिरी सुनचाँदी पसलका संचालक बर्दघाट नगरपालिका–४ देवीनगर बस्ने ६२ वर्षीय गजेन्द्र बिक शनिबार साँझ घाइते भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

गजेन्द्रले पसल बन्द गरी लु.४८ प ७४३५ नम्बरको स्कुटरमा छोरासँगै घर फर्किने क्रममा बर्दघाट नगरपालिका–१६ कुकुरमारास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले गजेन्द्रमाथि गोली प्रहार गरी स्कुटर समेत लिई फरार भएका थिए ।

गोली प्रहारको खबर प्राप्त हुनेवित्तिकै ईलाका प्रहरी कार्यालय सेमरीबाट टोली परिचालन भएको थियो ।

तत्काल खटिएको प्रहरीले घाइते गजेन्द्रलाई उपचारको लागि सामुदायिक अस्पताल चिसापानी लगेको थियो ।

अस्पतालबाट तिनाउ इन्टरनेशनल अस्पताल बुटवल रुपन्देहीमा रिफर गरिएकोमा पुन: थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2024 February 4, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया